अख्तियारलाई आरजुको जवाफ: तत्काल उपस्थित हुन सक्दिन
nagariknews.nagariknetwork.com · Thu Jun 18 10:57:02 GMT 2026

ई-पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा अनुसन्धान अघि बढाइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले आफू विदेशमा उपचाररत रहेकाले तत्काल उपस्थित हुन नसक्ने जानकारी गराएकी छन्।
अख्तियार स्रोतका अनुसार बुधबार आरजु राणाको नामबाट आयोगको आधिकारिक इमेलमा पठाउँदै अनुसन्धानमा सहयोग गर्न तयार रहेको तर हाल उपचारका कारण विदेशमा रहेको भन्दै उपस्थितिका लागि समय लाग्ने उल्लेख गरिएको छ।
यसअघि अख्तियारले पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानको दायरा विस्तार गर्दै बूढानीलकण्ठस्थित आरजुको निवासमा म्याद तामेल गराएको थियो। उक्त म्यादमार्फत बाटोको समय बाहेक तीन दिनभित्र उपस्थित भएर बयान दिन भनिएको थियो।
आरजु राणा र उनका पति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयदेखि विदेशमा रहेका बेला अख्तियारले अनुसन्धान प्रक्रिया तीव्र बनाएको हो।
अख्तियारले संकलन गरेका कागजातमा गत वर्षको ई-पासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाको प्रत्यक्ष लिखित निर्णय वा औपचारिक निर्देशन नदेखिएको बताइएको छ। तर आयोगले प्राप्त उजुरी र प्रारम्भिक अनुसन्धानका आधारमा उनी अनुसन्धानको घेरामा परेकी हुन्।
स्रोतका अनुसार पासपोर्ट खरिद प्रक्रियाको प्रारम्भिक डिजाइन, ठेक्का प्याकेज निर्माण तथा ठेकेदार छनोट मिलाउने क्रममा आरजु राणा मात्रै होइन, उनका छोरा जयवीर देउवाको समेत संलग्नता रहेको भन्दै अख्तियारमा उजुरी परेको छ।
अनुसन्धानका क्रममा राहदानी विभागबाट ई-पासपोर्टको ठेक्का अघि जयवीर देउवा, राष्ट्रपति रामचन्द्र पौडेलका तत्कालीन राजनीतिक सल्लाहकार सुनिल थापाका छोरा सिद्धार्थ थापा तथा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालबीच पटक-पटक भेटवार्ता भएको सूचना पनि अख्तियार टोलीले संकलन गरेको बताइएको छ।
संसदका विभिन्न समिति र अख्तियारमा दर्ता भएका उजुरीअनुसार टेन्डर प्रक्रियाको प्राविधिक मूल्यांकनमै मापदण्ड मिचिएको आशंका गरिएको छ।
टेन्डर कागजातमा ब्लेड सर्भर अनिवार्य भनिए पनि छनोटमा परेका कम्पनीले र्याक सर्भर प्रस्ताव गर्दा समेत त्यसलाई स्वीकृति दिइएको विषयलाई अनुसन्धानको मुख्य आधार बनाइएको स्रोतले जनाएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)