यसै वर्ष पूरा हुने आयोजनालाई बजेटमा प्राथमिकता
hamrakura.com · Thu Jun 18 00:00:00 GMT 2026
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लामो समयदेखि अलपत्र परेका आयोजनाहरूलाई छिटो सम्पन्न गर्ने र यसै वर्ष पूरा हुने आयोजनाहरूलाई बजेट विनियोजनमा प्राथमिकता दिएको स्पष्ट पारेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन्।
यस पटक बजेट जथाभाबी छर्ने भन्दा पनि रणनीतिक रूपमा प्राथमिकता छुट्याएर विनियोजन गरिएको मन्त्री श्रेष्ठले संसद्मा जानकारी दिए। आगामी आर्थिक वर्षभित्र जलविद्युत् आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी कूल १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध गरिने उनले बताए। यो थप भएसँगै देशको कुल जडित क्षमता ५ हजार ५३५ मेगावाट पुर्याउने सरकारी प्रक्षेपण रहेको उनले स्पष्ट पारे।
मुलुकको दीर्घकालीन ऊर्जा विकासका बारेमा बोल्दै मन्त्री श्रेष्ठले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको समेत स्मरण गराए। साथै, देशभित्र उत्पादित विद्युत् कुनै पनि हालतमा खेर जान नदिने गरी सरकारले आवश्यक गृहकार्य गरिरहेको समेत उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
प्रतिनिधि सभा