मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेसी-एमबाप्पे चलेको भोलिपल्ट रोनाल्डो ‘फ्लप’

setopati.com · Thu Jun 18 11:33:00 GMT 2026

बुधबार विश्व फुटबलका तीन सुपरस्टारले २०२६ को विश्वकपमा सानदार प्रदर्शन गरे।

सेनेगलविरुद्ध दुई गोल गर्दै केलियन एमबाप्पे फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने। नर्वेका अर्लिङ हालान्डले इराक विरुद्धको जितमा दुई गोल गर्दै आफ्नो विश्वकप डेब्यूलाई यादगार बनाए।

केही घन्टापछि लिओनल मेसीले त झन् एक कदम अगाडि बढेर अल्जेरिया विरुद्ध ह्याट्रिक गरे। यससँगै उनी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानसँग बराबरी गर्न सफल भए।

बिहीबारको खेल पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोका लागि आफ्नो छाप छोड्ने अवसर थियो, तर उनी सफल हुन सकेनन्।

प्रजातान्त्रिक गणतन्त्र कंगोविरुद्ध पोर्चुगल १-१ को बराबरीमा रोकियो। ६ वटा फरक विश्वकपमा गोल गर्ने पहिलो पुरुष खेलाडी बनेर इतिहास रच्ने पहिलो अवसरमा रोनाल्डोले खासै प्रभाव जमाउन सकेनन्।

प्रमुख प्रतियोगिताहरूमा पछिल्ला ९ खेलदेखि गोल गर्न नसकेका रोनाल्डो खेलको उत्तरार्धमा गोलका लागि निकै हतास देखिएका थिए। पेनाल्टी स्पट नजिक गोल गर्ने राम्रो अवस्थामा रहेका ब्रुनो फर्नान्डेजका लागि आएको पासलाई रोनाल्डोले आफ्नै रनले अवरोध पुर्‍याउँदा पोर्चुगलले जितको सुनौलो अवसर गुमाएको थियो।

फक्स स्पोर्ट्समा बोल्दै फ्रान्सका पूर्व स्ट्राइकर थिएरी हेनरीले फर्नान्डेजका लागि आएको पास आफैँले लिन खोज्नु रोनाल्डोको 'स्वार्थ' भएको टिप्पणी गरे।

हेनरीले भने, ‘यदि उनी सिक्स-यार्ड बक्समा गएको भए डिफेन्डरले उनलाई पछ्याउनुपर्ने हुन्थ्यो र फर्नान्डेजका लागि गोल गर्न सजिलो हुन्थ्यो। आफू नै गोल गर्न चाहने भएकाले उनी पासको बीचमा आए। मेरो विचारमा टिमलाई गोल चाहिन्छ, तपाईंलाई मात्र होइन।’

४१ वर्ष १३२ दिनको उमेरमा मैदान उत्रिएका रोनाल्डो विश्वकपमा सुरुवाती एघारमा खेल्ने सबैभन्दा पाका 'आउटफिल्ड' खेलाडी बने। यति पाको उमेरका खेलाडीलाई प्रशिक्षक रोबर्टो मार्टिनेजले पूरै समय मैदानमा राख्नु धेरैका लागि आश्चर्यको विषय बन्यो।

बीबीसी रेडियो ५ लाइभमा टिप्पणी गर्दै पूर्व प्रिमियर लिग स्ट्राइकर क्रिस सटनले प्रशिक्षक मार्टिनेजको निर्णयको कडा आलोचना गरे। ८३ औं मिनेटमा भिटिन्हाको स्थानमा गोन्कालो रामोस मैदान छिर्दा सटनले भने, ‘यो मार्टिनेजको लाजमर्दो निर्णय हो। उनी रोनाल्डोलाई मैदानबाट निकाल्न डराइरहेका छन्। उनी प्रशिक्षक जस्तो देखिएनन्। रोनाल्डोले निर्णायक गोल त गर्लान्, तर आजको खेल उनको नियन्त्रणमा देखिएन।'

खेल सुरु हुनुअघि इंग्ल्यान्डका पूर्वकप्तान वेन रुनीले आफ्ना पूर्व म्यानचेस्टर युनाइटेड टिममेट रोनाल्डो अन्य स्टारहरूको प्रदर्शन देखेर 'सकारात्मक रूपमा आक्रोशित' हुने ठट्टा गरेका थिए।

रुनीले भनेका थिए, ‘रोनाल्डोले आफूलाई सधैं चुनौती दिन्छन्। वर्षौंदेखि मेसी र उनले एकअर्कालाई यो स्तरसम्म पुग्न प्रेरित गरेका छन्। उनी अझै पनि आफू उत्कृष्ट स्तरमै रहेको देखाउन आज दुई-तीन गोल गर्न चाहन्थे।’

तर पोर्चुगलको पहिलो खेल योजना अनुसार अघि बढेन। छैटौं मिनेटमा पेड्रो नेटोको क्रसमा जोआओ नेभेसले उत्कृष्ट हेडरमार्फत पोर्चुगललाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्त्यतिर योआने विसाले कंगोका लागि बराबरी गोल फर्काए। ७५ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखे पनि पोर्चुगलले खेलभरि जम्मा ७ वटा सट प्रहार गर्‍यो, जसमध्ये नेभेसको गोल बाहेक अन्य कुनै पनि प्रहार 'टार्गेट'मा थिएन।

क्लब र राष्ट्रका लागि १,००० व्यवसायिक गोलको आँकडा नजिक रहेका साउदी क्लब अल-नासरका स्ट्राइकर रोनाल्डोले दोस्रो हाफको मध्यतिर दुईवटा अवसर पाएका थिए। तर फ्रान्सिस्को कन्सेइसाओले मिलाइदिएका दुवै अवसरलाई उनले सदुपयोग गर्न सकेनन्।

२०२२ को विश्वकपमा घानाविरुद्धको पेनाल्टीपछि रोनाल्डोले ठूला प्रतियोगिताका पछिल्ला १० खेलमा कुनै गोल गर्न सकेका छैनन्। पूरै समय मैदानमा बिताएका पोर्चुगलका आउटफिल्ड खेलाडीहरूमध्ये रोनाल्डोको बल टच (२५ पटक) सबैभन्दा कम थियो।

खेलको अन्त्यमा रुनीले भने, ‘उनको तथ्याङ्क सधैं राम्रो नहुन सक्छ, तर उनलाई मौका चाहिन्छ। यदि उनले राम्रो अवसर पाए भने गोल पक्कै गर्नेछन्।’

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)