मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुटवलमा बिसे नगर्चीको सालिक अनावरण

ratopati.com · Mon May 25 16:39:18 GMT 2026

बुटवल । रुपन्देहीको बुटवलमा बिसे नगर्चीको पूर्णकदको सालिक अनावरण तथा विश्राम गृहको समुद्घाटन गरिएको छ ।

बुटवल उपमहानगरपालिका–२ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा आज आयोजित कार्यक्रममा खेलराज पाण्डेय र पदम सुन्दास ले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

“बिसे नगर्ची एकताको प्रतीक नेपाल, रुपन्देही” को आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख पाण्डेयले बिसे नगर्चीको सालिकले उनीप्रति सम्मान व्यक्त गर्नुका साथै बुटवलको गौरव बढाउने बताए । उनले बिसे नगर्चीका बारेमा थप अनुसन्धान गरी विभिन्न तथ्य र प्रमाण संकलन गर्न आग्रह गरे ।

उनले नेपालको एकीकरणको इतिहासलाई नियाल्दा संकटका विभिन्न क्षणमा बिसे नगर्चीको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

त्यसैगरी पूर्व राजदूत सुन्दासले बिसे नगर्चीको योगदानलाई राज्यले लामो समयसम्म छायामा पारेको भन्दै उनको इतिहासलाई देशव्यापी बनाउन सातै प्रदेशमा सालिक निर्माण गरिने बताए । उनले भावी पुस्तालाई पनि बिसे नगर्चीबारे अनुसन्धान गराउन आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा परियार सेवा समाज का केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रणपाल ले विभिन्न सरकार आए पनि बिसे नगर्चीको योगदान महत्त्वपूर्ण रहेको बताए । उनले सरकारले हुलाक टिकटमा बिसे नगर्चीको तस्वीर समावेश गरेर केही हदसम्म सम्मान गरेको उल्लेख गरे ।

कार्यक्रममा बिसे नगर्चीको सालिक तथा विश्राम गृह निर्माणमा आर्थिक सहयोग गर्ने विभिन्न व्यक्तित्व तथा कलाकारहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा “बिसे नगर्ची एकताको प्रतीक नेपाल” का वरिष्ठ उपाध्यक्ष लोक बहादुर नेपाली ले सालिक निर्माणमा करिब ३८ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । गोरखामा जन्मिएका बिसे नगर्चीको यसअघि गोरखा र काठमाडौँमा सालिक निर्माण भइसकेको तथा लुम्बिनी प्रदेशमा पहिलो पटक बुटवलमा सालिक स्थापना गरिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)