मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिम प्रदेशसभामा दुई विधेयक टेबुल

baahrakhari.com · Mon May 25 16:41:50 GMT 2026

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा ‘सुदूरपश्चिम प्रदेश बडघर तथा भलमन्सा प्रथाको संरक्षण तथा व्यवस्था गर्न बनेको विधेयक’टेबुल गरिएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उक्त विधेयक टेबुल गरेका हुन् । पश्चिम तराईका जिल्लामा बसोबास गर्दै आएको डगौरा थारु समुदायमा बडघर तथा भलमन्सा प्रथा सदियौँदेखि प्रचलनमा रहेको छ । लोकतान्त्रिक एवं प्रजातान्त्रिक मानिने यो प्रथालाई कानुनी मान्यता दिन विधेयक टेबुल गरिएको हो ।

मन्त्री खड्काले ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरे ।

यसअघि बैठकको प्रारम्भमा दिइएको शून्य समयमा बोल्ने प्रदेशसभाका सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । उनीहरूले बाजुरा र हुम्ला जिल्लाका स्थानीयबीच केही दिनदेखि उत्पन्न सीमा विवादका क्रममा भएको कुटपिटलगायत अमानवीय घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा दार्चुलाको व्यास गाउँपालिकाका शिक्षक बलदेव धामीको आत्महत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्यहरूले चालु योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन, आलोचना नहुने गरी आगामी वर्षको बजेट कार्यक्रम ल्याउन, कैलालीको क्षेत्र नं–३ मा वर्षौंदेखि निर्माण पूरा हुन नसकेर अलपत्र अवस्थामा रहेको गुर्गी बाँध सिँचाइ आयोजनाको निर्माणका साथै सो क्षेत्रका सडक स्तरोन्नति गर्न, टीकापुर अस्पतलालाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न, कर्णाली नदी कटान नियन्त्रणसम्बन्धी योजना ल्याउन, कैलालीको गोदावरीमा तोकिएको प्रदेशको स्थायी राजधानी निर्माणको योजना छिटो कार्यान्वयनमा ल्याउन ध्यानाकार्षण गराए ।

प्रदेशसभा सदस्य मानबहादुर धामीले शून्य समय, विषेश समय र आकस्मिक समयमा सदनमा पटकपटक ध्यानाकर्षण गराइएका विषयका बारेमा सरकारका तर्फबाट कुनै जवाफदेहिता नदेखाइएको भन्दै सभामुखलाई ‘रुलिङ’ गर्न माग गरे ।

आजको शून्य समयमा प्रदेशसभा सदस्यहरू विक्रमसिंह धामी, खुसीराम डगौरा थारु, घनश्याम चौधरी, तुल्सी देवकोटा, लक्ष्मणकिशोर चौधरी, लक्ष्मी विक, नरेशबहादुर शाही, ललिता सुनार र जुनाकुमारी दानीले भाग लिएका थिए । रासस

#सुदूरपश्चिम प्रदेशसभा

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)