मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्क्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : कानुनमन्त्री गौतम

gorkhapatraonline.com · Thu Jun 18 12:23:37 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुँगोमा पुर्‍याउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री गौतमले सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी कामलाई टुँगोमा पुर्‍याउनका लागि सरकारले राजनीतिक दल र सरोकारवाला निकायसँगको छलफललाई निरन्तर रूपमा अघि बढाउने स्पष्ट पार्नुभयो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी हालसम्म भएका कामहरूको यथार्थ विवरण सङ्कलन भइरहेको र त्यसका आधारमा मात्रै सम्बन्धित पक्षसँग छलफल गरेर निष्कर्षमा पुर्‍याउने सरकारको कार्ययोजना रहेको मन्त्री गौतमले उल्लेख गर्नुभयो ।

बैठकमा बोल्दै मन्त्री गौतमले भन्नुभयो, “शान्ति सम्झौता भएको २० वर्षको अवधिमा शान्ति प्रक्रियामा के–कति र कस्ता कामहरू भए, त्यसको एकीकृत विवरण तयार भइरहेको छ । यो विवरण तयार भइसकेपछि सरकारको एउटा यथार्थपरक ‘पोजिसन पत्र’ (धारणा पत्र) बन्नेछ । त्यसैका आधारमा हामीले विभिन्न राजनीतिक दल र सरोकारवालासँग निरन्तर संवाद गरेर यो प्रक्रियालाई टुँगोमा पुर्‍याउने तयारी गरिरहेका छौँ ।”

नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत समावेश गरिएको यो विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

मन्त्री गौतमले आम नागरिकको न्यायमा सहज पहुँच पुर्‍याउनका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी दिनुभयो । न्याय प्रणालीलाई समावेशी र सुलभ बनाउने उद्देश्यका साथ सरकारले यस विषयमा छुट्टै कानुन निर्माण गर्ने कार्यलाई अगाडि बढाएको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय