मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकको संस्थापक सेयर खरिदमा कडाइ, वास्तविक धनीको विवरण अनिवार्य

arthadabali.com · Thu Jun 18 12:42:07 GMT 2026

काठमाडौँ / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिद तथा नामसारी प्रक्रियामा थप पारदर्शिता कायम गर्न नयाँ व्यवस्था लागु गरेको छ।

नयाँ व्यवस्थाअनुसार अब एक पटक वा पटक–पटक गरी चुक्ता पूँजीको कुल ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको संस्थापक सेयर खरिद वा नामसारी गर्दा खरिदकर्ता तथा वास्तविक धनी (बेनिफिसियल ओनर)को विस्तृत विवरण अनिवार्य रूपमा खुलाउनुपर्नेछ।

राष्ट्र बैंकले जारी गरेको व्यवस्थाअनुसार यस्ता व्यक्तिको नाम, ठेगाना, पारिवारिक विवरण, व्यवसाय सञ्चालनसम्बन्धी कानुनी मापदण्ड पूरा गरेको स्वघोषणा तथा वास्तविक धनीको विवरण संकलन गर्नुपर्नेछ। उक्त विवरण राष्ट्र बैंकसमक्ष समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, नेपाल वा विदेशमा कुनै कसुरमा संलग्न भए नभएको, मुद्दा मामिला, अनुसन्धान वा प्रशासनिक कारबाहीमा रहेको वा नरहेको, सरकारी बक्यौता तथा राजस्व दायित्व बाँकी रहेको वा नरहेको विवरणसमेत खुलाउनुपर्नेछ।

कर्जा सम्बन्धी कालोसूचीमा परेको अवस्था, स्वार्थको द्वन्द्व हुन सक्ने परिस्थिति, विदेशमा रहेको सम्पत्ति तथा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी रहेको विषय पनि स्वघोषणामार्फत जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

यसका अतिरिक्त सम्बन्धित व्यक्तिको विगतको कार्य अनुभव, संलग्न संस्था, जिम्मेवारी, प्राप्त पुरस्कार, सजाय तथा वित्तीय आचरणसम्बन्धी विवरण समेत अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

यदि सेयरधनी कुनै संस्था भएमा उक्त संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एकल, संयुक्त वा समूहगत रूपमा १५ प्रतिशत वा सोभन्दा बढी लगानी गर्ने वास्तविक धनी वा हिताधिकारीको विवरण पनि खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार यो व्यवस्था नयाँ लगानीकर्तामा मात्र सीमित रहने छैन। हाल बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी संस्थापक सेयर धारण गरेका सेयरधनी तथा तिनका वास्तविक धनीमा समेत यो व्यवस्था लागु हुनेछ।

साथै, भविष्यमा विवरणमा कुनै परिवर्तन भएमा अद्यावधिक विवरण समेत राष्ट्र बैंकमा पेश गर्नुपर्ने प्रावधान राखिएको छ।

सम्बन्धित विषय:

# नेपाल राष्ट्र बैंक

# बैंक

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)