मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक दुर्घटना न्यूनीकरण गर्न विशेष योजना आवश्यक छ : मुख्यमन्त्री आचार्य

onlinekhabar.com · Thu Jun 18 12:37:26 GMT 2026

४ असार, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

बिहीबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि र लापरबाहीसहित ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढिरहेको बताए ।

उनले सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि विशेष योजना तयार गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै त्यसतर्फ प्रदेश सरकारबाट आवश्यक सहयोग हुने बताए ।

सडक सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारको प्राथमिकतामा राखेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सुधार, सडक पूर्वाधारको स्तरोन्नति तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे ।

सडक दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षतिको न्यूनीकरण तथा रोकथामका लागि दीर्घकालीन तथा परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री आचार्यले सुरक्षित सडक र सुरक्षित यात्राको वातावरण निर्माण गर्न सरोकार भएका सबै पक्षबीच सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए । –रासस

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)