मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंक सञ्चालक र उच्च व्यवस्थापकले राष्ट्र बैंकमा बुझाउनुपर्ने थप विवरण के हुन् ?

onlinekhabar.com · Thu Jun 18 13:09:50 GMT 2026

४ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापकले स्वघोषणा गर्नुपर्ने विवरण थप गरिएका छन् । नेपाल राष्ट्र बैंकले संस्थागत सुशासन सम्बन्धी व्यवस्थालाई संशोधन गर्दै कसुर तथा आरोप नभए/नभएको खुलाउनु पर्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकका अनुसार इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले सञ्चालक, प्रमुख कार्यकारी अधिकृत एवम् उच्च व्यवस्थापकीय तहमा नियुक्ति वा मनोनयन हुँदा सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानुन बमोजिम मापदण्ड पालना गरेको स्वघोषणा गर्नुपर्नेछ ।

त्यसैगरी सम्बन्धित व्यक्तिको पारिवारिक विवरण, नेपाल वा विदेशमा कुनै कसुरमा संलग्न भए/नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था थप भएको छ ।

केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै स्वदेश वा विदेशमा कुनै कसुरमा संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था समेत स्वघोषणा गर्नु पर्ने भएको छ । साथै यस्तो स्वघोषणा विवरण केन्द्रीय बैंकमा समेत पठाउनुपर्ने व्यवस्था भएको निर्देशनमा उल्लेख छ ।

कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा व्यक्ति रहे वा नरहेको विवरण पनि संलग्न गर्नुपर्नेछ ।

अदालत वा अधिकार प्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको विवरण समेत सम्बन्धित संस्थालाई उपलब्ध गराउनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

त्यसैगरी स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारका सूचीमा परे वा नपरेको स्वघोषणा, स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको, नेपाली नागरिकको हकमा विदेशमा कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको स्वघोषणा गर्नु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

सञ्चालक तथा उच्च व्यवस्थापक विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण बुझाउनु पर्ने व्यवस्था केन्द्रीय बैंकले थप गरेको छ । वित्तीय आचरण सम्बन्धी विवरण पनि बुझाउनु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

केन्द्रीय बैंकले एक पटक वा पटक पटक गरी चुक्ता पूँजीको कुल ५ प्रतिशत वा कुल २५ लाखभन्दा बढीको संस्थापक सेयर खरिद वा नामसारी गर्दा सोको वास्तविक धनी वा हिताधिकारी व्यक्तिको विवरण पनि लिनुपर्ने व्यवस्था गरेको छ ।

यस्तो सेयरधनीले सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानुन बमोजिम मापदण्ड पालना गरेको स्वघोषणा, सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीको विवरण समेत समावेश गराउनु पर्छ ।

त्यसैगरी नेपाल वा विदेशमा कुनै कसुरमा संलग्न भए वा नभएको स्वघोषणा र संलग्न भएको भए सोको विस्तृत विवरण तथा वर्तमान अवस्थाको पनि जानकारी गराउनु पर्नेछ । कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको स्वघोषणा गर्नु पर्ने केन्द्रीय बैंकले जनाएको छ । अदालत वा अधिकार प्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको स्वघोषणा गर्नुपर्छ ।

केन्द्रीय बैंकका अनुसार स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको स्वघोषणा, स्वार्थको द्वन्द्व हुनसक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण, नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भएरनभएको स्वघोषणा गर्नुपर्छ ।

सेयरधनी संस्था भएको खण्डमा सो लगानीकर्ता संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एकल, संयुक्त वा समूहगत गरी १५ प्रतिशत वा सोभन्दा बढी सेयर वा पूँजी लगानी गरेको वास्तविक धनी वा हिताधिकारीको समेत विवरण लिनुपर्ने व्यवस्था गरिएको छ । यस्तो विरणको व्यवस्था नेपाल पुर्वाधार विकास बैंक तथा लघुवित्त वित्तीय संस्थाको हकमा लागु हुने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय