काठमाडौँ महानगरको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासमा ६१ प्रतिशत विनियोजन
arthadabali.com · Thu Jun 18 13:44:42 GMT 2026

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
महानगरको नगरसभामा कार्यवाहक मेयर सुनिता डंगोलले बजेट प्रस्तुत गर्दै नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषबाट र ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभारमार्फत खर्च हुने बताइन्।
प्रस्तावित बजेटमध्ये महानगरको आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटबाट ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
क्षेत्रगत रूपमा हेर्दा पूर्वाधार विकासतर्फ सबैभन्दा बढी १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६१ प्रतिशत विनियोजन गरिएको छ। सामाजिक विकास क्षेत्रमा २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ (९.६ प्रतिशत), आर्थिक विकास क्षेत्रमा ५४ करोड १८ लाख २० हजार रुपैयाँ (२.१ प्रतिशत), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ (८.५ प्रतिशत) तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ (१८.८ प्रतिशत) बजेट प्रस्ताव गरिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको थियो। आगामी आवको बजेट त्यसको तुलनामा केही वृद्धि भएको छ।
सम्बन्धित विषय:
# काठमाडौँ महानगरपालिका
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)