मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिल्ला प्रशासनमै बन्यो नागरिक सहायताकक्ष

nagariknews.nagariknetwork.com · Thu Jun 18 14:30:40 GMT 2026

जिल्ला प्रशासन कार्यालय उदयपुरले कार्यालय भवनमै ‘नागरिक सहायताकक्ष’ स्थापना गरि सञ्चालनमा ल्याएपछि सर्वसाधारणलाई राहत मिलेको छ । खासगरि निरक्षर, जेष्ठ नागरिक, अशक्त, अपाङ्गतलाई लक्षित गरि स्थापना गरिएको सहायताकक्षमा सबैखाले सेवाग्राही लाभान्निवत हुन पाएका छन् ।

कार्यालयमा सेवा लिन आउने सर्वसाधारणलाई लिखत तथा अन्य कानुनी परामर्श र सहयोग गर्ने उदेश्यले बुधबारदेखि सञ्चालनमा ल्याएको सहायता कक्ष मेखबहादुर मग्राती यसै साता नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रुपमा आएपछि स्थापना गरिएको कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेले बताए ।

सहायताकक्षले सर्वसाधारण सेवाग्राहीलाई सामान्यदेखि जटिलखालका सेवासम्म लिन आवश्यक निवेदन लेख्नेदेखि काजगात जुटाउने तथा अन्य सेवासम्बन्धी उचित परामर्श दिने काम सुरु गरेको छ । कार्यालयद्वारा जारी सूचनामा प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई कानुनी प्रक्रियाबारे जानकारी गराउनेदेखि निःशूल्क निवेदन लेखिदिनेसम्मको सहयोग गर्न सहायताकक्ष स्थपना गरिएको उल्लेख छ ।

सानोतिनो काम लिन पनि निवेदन आवश्यक पर्ने तर, निरीक्षर सर्वसाधारण, जेष्ठ नागरिक, अपाङ्गता तथा अशक्त व्यक्तिहरुले त्यसका लागि लेखापढी व्यवसायी वा कानुन व्यवसायी गुहार्दा खर्च लाग्ने कारण मार्कामा पर्दै आएका सेवाग्राहीलाई सहायताकक्षले प्रत्यक्ष राहत महसुस गराउने अपेक्षा प्रशासनले गरेको छ ।

मग्रातीले प्रशासन कार्यालयबाट प्राप्त हुने सबैखाले सेवा सरल, प्रभावकारी, प्रविधि र नागरिकमैत्री बनाउने उदेश्यले सहायताकक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको बताए । निवेदन लेख्न नजान्नेहरुदेखि अन्य सबैखाले सेवाग्राहीलाई सहायताकक्षबाट निःशूल्क निवेदन लेखिदिनेदेखि अन्य कानुनी प्रक्रियागत कुराहरुको पनि व्यवस्था मिलाइएको उनले बताए ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)