फाइभजी सञ्चालनको तयारी पूरा, स्पेक्ट्रमको पर्खाइमा सेवा प्रदायक
baahrakhari.com · Thu Jun 18 14:43:57 GMT 2026

काठमाडौं । नेपालमा फाइभजी मोबाइल सेवा सञ्चालनको तयारी तीव्र बन्दै गएको छ । सरकार, नियामक निकाय र दूरसञ्चार सेवा प्रदायकहरूले आवश्यक प्राविधिक तथा नीतिगत तयारी पूरा भएको दाबी गरिरहेका बेला विज्ञहरूले भने फोरजी सेवाकै गुणस्तर सन्तोषजनक नभएको अवस्थामा फाइभजी विस्तार गर्दा थप चुनौती देखिन सक्ने बताएका छन् ।
प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले बिहीबार आयोजना गरेको ‘नेपालको वर्तमान दूरसञ्चार अवस्था’ विषयक अन्तक्र्रिया तथा राउन्ड टेबल छलफलमा सहभागी सरकारी अधिकारी, नियामक र सेवा प्रदायकहरूले नेपाल फाइभ जी युगमा प्रवेश गर्न तयार रहेको बताएका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण भइसकेको जानकारी दिँदै प्राधिकरण स्पेक्ट्रम अक्सन प्रक्रियामा जान तयार रहेको बताए । सेवा प्रदायकहरूले माग गरेपछि स्पेक्ट्रम वितरणमा कुनै समस्या नरहने उनको भनाइ थियो ।
नेपाल टेलिकमका उपप्रबन्धक राजेन्द्र दुलालले कम्पनीले प्रमुख सहरमा फाइभजी सेवा सुरु गर्ने आन्तरिक निर्णय गरिसकेको जानकारी दिए । टेलिकम स्पेक्ट्रमको पर्खाइमा रहेको र सरकारले निर्णयसँगै अघि बढ्ने जानकारी दिए ।
दुलालका अनुसार, यसअघि टेलिकमले परीक्षण गरिएको समयमा देशभर फाइभजी चल्ने मोबाइल ह्यान्डसेटको संख्या निकै कम मात्रै रहेको र अहिले भने त्यस्तो उपकरण प्रयोगकर्ताको हिस्सा २० प्रतिशतभन्दा माथि पुगेको जानकारी दिए । यसले बजार फाइभ जीका लागि क्रमशः तयार हुँदै गएको संकेत गरेको उनले बताए ।
उनका अनुसार, तीनदेखि चार वर्षअघि नै काठमाडौं, पोखरा लगायतका चार–पाँचवटा साइटमा फाइभजीको परीक्षण (ट्रायल) गर्दा सर्वसाधारणलाई सेवा दिएर व्यावसायिक सम्भाव्यता अध्ययन गर्ने योजना थियो । तर, त्यतिबेला बजारमा उपयुक्त ह्यान्डसेटको अभाव भएकाले परीक्षणलाई आफ्नै कर्मचारीहरूमा सीमित गर्नुपरेको उनको दाबी छ ।
टेलिकमका वरिष्ठ व्यवसाय अधिकृत प्रकाशचन्द्र सिग्देलले तीन वर्षअघि नै विभिन्न सहरमा परीक्षण सम्पन्न गरिसकेको टेलिकम हाल आवश्यक फ्रिक्वेन्सीको प्रतीक्षामा रहेको बताए ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि फाइभजी परीक्षणका लागि तेस्रोपटक अनुमति मागेको छ । कम्पनीले गत वैशाखमा नेपाल दूरसञ्चार प्राधिकरणसँग आवश्यक फ्रिक्वेन्सी माग गर्दै निवेदन दिएको जानकारी कार्यक्रममा दिइयो ।
यद्यपि, दूरसञ्चार विज्ञ आनन्दराज खनालले फोरजी सेवाको गुणस्तरबारे उपभोक्ताका गुनासा कायम रहेकाले फाइभजीमा हतार गर्दा असन्तुष्टि अझ बढ्न सक्ने चेतावनी दिए । दूरसञ्चार क्षेत्र निरन्तर परिवर्तनशील र जटिल भएकाले उच्च गुणस्तर सुनिश्चित गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।
उनले नियामक निकायको स्वायत्ततामाथि समेत प्रश्न उठाउँदै दूरसञ्चार क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको टिप्पणी गरे । नियामक संस्थाले स्वतन्त्र रूपमा नीति निर्माण र निर्णय गर्न सक्ने वातावरण आवश्यक रहेको उनले बताए ।
सूचना तथा सञ्चार मन्त्रालयका इन्जिनियर कृष्णकुमार झाले भने फाइभजी केवल तीव्र इन्टरनेट सेवाका लागि नभई स्मार्ट सिटी, डिजिटल सुशासन र मेसिन–टु–मेसिन सञ्चारका लागि आवश्यक रहेको बताए । स्मार्ट मिटर, सार्वजनिक यातायातको जीपीएस ट्र्याकिङ तथा उच्च गुणस्तरको लाइभ स्ट्रिमिङ सेवामा फाइभ जी उपयोगी हुने उनको भनाइ थियो ।
छलफलमा सहभागीहरूले सरकारले घोषणा गरेको एक हजार ६ सय नयाँ दूरसञ्चार टावर निर्माण योजना स्वागतयोग्य रहेको बताउँदै खरिद प्रक्रिया छिटो सम्पन्न गरी एक वर्षभित्र पूर्वाधार निर्माण सक्नुपर्ने सुझाव दिएका थिए । साथै, नयाँ संरचना थप्नुका साथै विद्यमान टावर र नेटवर्कलाई स्तरोन्नति गरेर फाइभजी इकोसिस्टम विकास गर्नुपर्ने धारणा पनि राखिएको थियो ।
कार्यक्रममा दूरसञ्चार तथा इन्टरनेट सेवाको गुणस्तर, उपभोक्ताका गुनासा, तेस्रो दूरसञ्चार सेवा प्रदायकको सम्भावना, नीतिगत सुधार तथा कर प्रणालीबारे समेत व्यापक छलफल भएको थियो । सहभागीहरूले दूरसञ्चार नीति र कानुनलाई समयानुकूल बनाउँदै प्रविधिमैत्री वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेका छन् ।
#फाइभजी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
नेपाल दूरसञ्चार प्राधिकरण