शून्य सडक सचेतना
nagariknews.nagariknetwork.com · Fri Jul 10 00:24:46 GMT 2026

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा यो साता एक दिनमै दुई हजार ६६ जना सवारीचालक कारबाहीमा परेका छन्। कारबाहीस्वरूप उनीहरूबाट राज्यकोषमा १८ लाख ६० हजार रुपैयाँभन्दा बढी राजस्वसमेत संकलन भयो। सतहमा हेर्दा यो नियमित ट्राफिक अनुगमनको तथ्यांकजस्तो देखिन्छ तर यसको अर्थ गहिरो छ। एउटै दिनमा यति ठुलो संख्यामा नागरिक नियम उल्लंघन गर्दै भेटिनु केवल ट्राफिक व्यवस्थापनको समस्या मात्र मान्न सकिँदैन, यो हाम्रो नागरिक चेतना, कानुनप्रतिको सम्मान र सार्वजनिक अनुशासनको प्रतिविम्ब हो।
राजधानी काठमाडौं देशको राजनीतिक, प्रशासनिक र आर्थिक केन्द्र हो। अन्यत्रभन्दा शिक्षित, सचेत र अवसरप्राप्त जनसंख्याको ठुलो हिस्सा यहीं बस्छ तर यहीं दैनिक हजारौं मानिसले जानीजानी ट्राफिक नियम उल्लघन गर्नुले समस्या सडकमा होइन, हाम्रो आमसोचमा रहेको संकेत गर्छ। रातो बत्ती काट्ने, लेन मिच्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सडकपेटीमा पार्किङ गर्ने, एकतर्फी सडकमा उल्टो दिशाबाट सवारी चलाउने वा तीव्र गतिमा सवारी कुदाउने व्यवहार कुनै अन्जानमा हुने गल्ती होइनन्। यी सबै ‘मलाई केही हुँदैन’ भन्ने मानसिकता र सार्वजनिक नियमलाई व्यक्तिगत सुविधाभन्दा कमजोर ठान्ने प्रवृत्तिका उदाहरण हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)