मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका र इरानबीचको ‘इस्लामाबाद समझदारी’को नेपालद्वारा स्वागत

lokaantar.com

नेपाल सरकारले संयुक्त राज्य अमेरिका र इरानबीच आज हस्ताक्षर भएको ‘इस्लामाबाद समझदारी पत्र’ को स्वागत गरेको छ । दुई देशका राष्ट्रपतिहरूले हस्ताक्षर गरेको यस ऐतिहासिक शान्ति सम्झौतालाई नेपालले कूटनीतिक प्रयासको सफल परिणामका रूपमा लिएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसअघि ८ अप्रिल २०२६ मा भएको युद्धविरामको घोषणालाई स्वागत गरेको स्मरण गर्दै अहिलेको सम्झौताले पश्चिम एसियामा दिगो शान्ति र स्थिरता कायम गर्नेमा नेपाल आशावादी रहेको जनाएको छ ।

पश्चिम एसियामा जारी द्वन्द्वले विश्व अर्थतन्त्रका साथै नेपालमा समेत दूरगामी असर पारेको उल्लेख गर्दै नेपालले सुरुदेखि नै यस क्षेत्रको गतिविधिलाई नजिकबाट नियालिरहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालले यो शान्ति सम्झौतामार्फत द्वन्द्वका कारण प्रभावित भएको सामुद्रिक मार्ग पुनः सुचारु हुने र क्षेत्रीय स्थायित्वमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

यसैगरी, शान्ति प्रक्रियामा महत्वपूर्ण मध्यस्थकर्ताको भूमिका खेल्ने देशहरूप्रति आभार प्रकट गर्दै नेपालले अन्तर्राष्ट्रिय समुदायका शान्ति र स्थिरता प्रवर्द्धन गर्ने हरेक प्रयासमा आफ्नो समर्थन रहने प्रतिबद्धता समेत दोहोर्‍याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)