देश टुक्रिएसँगै युद्धको आगोमा पिल्सिएको युगोस्लाभ फुटबल टोलीको स्वर्णिम कथा [भिडियो]
shilapatra.com · Thu Jun 18 15:24:54 GMT 2026
भीआईपी सिट छाडेर देशको फुटबल जर्सीमा दर्शकसँगै हुटिङमा उत्रिएपछि रसिया विश्वकप–२०१८ मा भाइरल बनिन्, क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिच । फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित भएर उपविजेता बन्यो । जर्सीमै आफ्ना खेलाडीसँग गला मिलाइरहेको उनको तस्बिर र भिडियोले संसारको ध्यान खिच्यो ।
यो विश्वकपमा राष्ट्रपतिको अंगालोभन्दा क्रोएसियाका समर्थकलाई भावुक बनाउने कथा थियो, स्टार खेलाडी लुका मोड्रिचको, जसले बाल्यकालमै क्रोएसियाली स्वतन्त्रताको युद्धका कारण शरणार्थी जीवन बिताए, हजुरबुवाको दर्दनाक हत्या गरियो र घर जलाएपछि परिवार शरणार्थी बन्न बाध्य भएको थियो । बम र गोलीको आवाजका बीच शरणार्थी शिविर बनेका होटलका पार्किङमा नै फुटबल सिके ।
उनी यस्ता खेलाडी हुन्, जसले बाल्यकालको भयानक गृहयुद्ध, शरणार्थी जीवन, गरिबीबाट माथि उठेर विश्व फुटबलको सर्वोच्च प्रतियोगिता विश्वकपको फाइनलसम्म पुग्ने प्रेरणादायी इतिहास रचे । उत्कृष्ट खेल, जादुमय पास र कप्तानी क्षमताका कारण इतिहासकै महान मिडफिल्डर लुका मोड्रिच यस्ता खेलाडी हुन्, जसको बिरासत नै फुटबल साम्राज्यसँग जोडिन्छ र ‘बाल्कनको ब्राजिल’ को उपनामले चिनिन्छ ।
तपाईं हामीले जसरी आज युरोपको शान्ति समृद्धि, स्थिरता विकास देखिरहेका छौँ, यो त्यति सजिलै प्राप्त भएको होइन । बरु शताब्दीयौँको युद्ध, विशाल साम्राज्यहरूको पतन, नरसंहार, जातीय द्वन्द्व र दुई विश्वयुद्धको खरानीबाट यो अवस्थामा आइपुगेको हो ।
आजको युरोपका १५ वटा देशको इतिहास हेर्ने हो भने कुनै न कुनै रुपमा अस्ट्रो–हंगेरी साम्राज्यसँग जोडिन्छ । पहिलो विश्वयुद्धपछि अस्ट्रो–हंगेरी साम्राज्य विघटन भएसँगै बाल्कन क्षेत्रमा एउटा अर्को साम्राज्य जन्मियो, युगोस्लाभिया । बाल्कन क्षेत्रमा करिब २ लाख ५५ हजार ८ सय वर्गकिलोमिटरमा फैलिएको यही युगोस्लाभियाभित्र क्रोएसिया, बोस्निया एन्ड हर्जगोभिना, सर्बिया, स्लोभेनिया, नर्थ मेसेडोनिया, मन्टेनेग्रो र कोसोभोमा अलग–अलग जाति, धर्म र भाषिक समूह अटाएका थिए ।
युगोस्लाभिया १९१८ देखि विभिन्न स्वरूपमा अस्तित्वमा रह्यो र १९९० को दशकको सुरुवातमा विघटन भयो । जतिबेला यो देश ७ टुक्रामा विभाजित भयो, त्यसबेला फुटबलमा युरोपको ‘पावर हाउस’ मानिन्थ्यो । सोभियत टोलीलाई शारीरिक शक्ति र फलामे अनुशासनका लागि चिनिन्थ्यो भने युगोस्लाभियाको शैली ठ्याक्कै उल्टो थियो । युगोस्लाभ खेलाडीहरू सुन्दर, कलात्मक र आक्रामक फुटबलका लागि परिचित थिए । त्यसैले यो टोलीलाई ‘बाल्कनको ब्राजिल’ भनेर चिनिन्थ्यो ।
तर, सन् १९९० को दशकमा बाल्कन क्षेत्रमा सल्किएको गृहयुद्ध र जातीय हिंसाको आगोले एउटा सुन्दर बहुजातीय देशलाई मात्र टुक्रा–टुक्रा पारेन, फुटबल इतिहासकै सबैभन्दा प्रतिभावान् मानिएको एउटा ‘स्वर्णिम पुस्ता’ लाई पनि सधैंका लागि समाप्त पारिदियो ।
युगोस्लाभियाले सन् १९३० पहिलो विश्वकपदेखि नै फिफा विश्वकपमा सहभागिताको अवसर पायो । तर, पहिलो विश्वकप खेलेपछि फेरि अर्को विश्वकप खेल्न भने २० वर्ष पर्खिनुपर्यो । सन् १९५० देखि १९६२ सम्म लगातार चार विश्वकप र त्यसपछि १९७४, १९८२ र १९९० गरी युगोस्लाभियाको टोलीले ८ पटक विश्वकप खेल्यो ।
रुसले विभाजनपछि सीआईएस नेशनल टिमको नाममा फुटबल खेलेजस्तै युगोस्लाभियाको टोलीले पनि देश विभाजनपछि सन् १९९८ को फ्रान्स विश्वकपमा ‘युगोस्लाभिया संघीय गणतन्त्र’ को नाममा विश्वकप खेल्यो । तर, त्यो वास्तविक युगोस्लाभिया नभएर सर्बिया र मोन्टेनेग्रो मात्र बाँकी थिए ।
विश्वकपको पहिलो संस्करणमै युगोस्लाभियाले सनसनी मच्चायो । उरुग्वेमा भएको विश्वकपमा युगोस्लाभियाले शक्तिशाली ब्राजिललाई २–१ ले हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गर्यो । सेमिफाइनलमा आयोजक उरुग्वेसँग पराजित भए पनि युगोस्लाभियाले विश्व फुटबलमा आफ्नो बलियो छाप छोड्यो ।
सन् १९५० को दशकमा युगोस्लाभिया विश्व फुटबलको सबैभन्दा कठिन टोलीहरूमध्ये एक थियो । टोली १९५४ र १९५८ मा लगातार क्वार्टरफाइनल पुग्यो । जहाँ दुवैपटक उसलाई पश्चिम जर्मनीले रोकेको थियो । युगोस्लाभियाले सबैभन्दा ठूलो सफलता भने सन् १९६२ को चिली विश्वकपमा पायो । यो विश्वकपमा युगोस्लाभिया समूह चरणमा सोभियत युनियनसँग पराजित भए पनि उरुग्वे र कोलम्बियालाई हराउँदै ‘नक आउट’ चरणमा पुग्यो । क्वाटरफाइनलमा पश्चिम जर्मनीलाई हराउँदै सेमिफाइनलमा मात्रै पुगेन, त्यसअघि लगातार दुई क्वाटरफाइनलमा पश्चिम जर्मनीसँग भोगेको हारको बदला समेत लियो ।
तर, सेमिफाइनलमा भने युगोस्लाभियाको तगारो बन्यो, छिमेकी चेकोस्लोभाकिया । यो विश्वकपमा युगोस्लाभियाले चौथो स्थान हासिल गर्न सफल भयो । यसअघि युगोस्लाभिया पहिलो विश्वकपमा पनि चौथो भएको थियो । दुई पटक सेमिफाइनलमा पुग्नु युगोस्लाभ टोलीको ठूलो सफलता थियो ।
तर, त्यसपछि लगातार १९६६ र १९७० को विश्वकपमा छनोट भएन । त्ययसबेला अहिलेजस्तो युरोपेली छनोटको समूह चरणमा दोस्रो हुने टिमले प्लेअफ खेल्ने व्यवस्था थिएन । दुवै पटक युगोस्लाभिया समूहमा दोस्रो भएको थियो ।
सन् १९७४ को विश्वकपमा दोस्रो चरणसम्म पुग्यो । यही विश्वकपमा युगोस्लाभियाले जायरलाई ९–० ले हरायो । जुन विश्वकपको इतिहासकै सर्वाधिक गोल अन्तरको जितको कीर्तिमान हो । हंगेरीले १९५४ को विश्वकपमा दक्षिण कोरियालाई र ९–० र १९८२ मा एल साल्भाडोरलाई १०–१ ले हराएको थियो । त्यसैले ९–० गोलअन्तरको जितको संयुक्त कीर्तिमान युगोस्लाभिया र हंगेरीको नाममा छ ।
सन् १९९० को विश्वकप युगोस्लाभियाको इतिहासको सबैभन्दा सुन्दर तर दुःखद अध्याय हो । टोलीमा ड्रागन स्टोइकोभिच, डाभोर सुकर, रोबर्ट प्रोसिनेचकी र जार्को पान्सेभजस्ता अद्भुत युवा खेलाडी थिए । समूह चरण पार गरेपछि अन्तिम १६ को खेलमा स्पेनविरुद्ध ड्रागन स्टोइकोभिचले दुई गोल गर्दै युगोस्लाभियालाई क्वार्टरफाइनल पुर्याए ।
क्वार्टरफाइनलमा उनीहरूको सामना डिएगो म्याराडोनाको अर्जेन्टिनासँग भयो । खेलमा युगोस्लाभियाका एक खेलाडीले सुरुमै रातो कार्ड पाएर बाहिरिनु परेपछि टोलीले १० खेलाडीमा सीमित भएर पनि १२० मिनेटसम्म अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेको थियो । अन्त्यमा पेनाल्टी सुटआउटमा युगोस्लाभियालाई भाग्यले साथ दिएन र अर्जेन्टिना ३–२ ले विजयी भएर सेमिफाइनलमा पुग्यो । यो नै युगोस्लाभियाको जर्सीमा खेलिएको अन्तिम विश्वकप बन्यो । युगोस्लाभियाको फुटबलमा यो यस्तो पुस्ता थियो, जसले यदि देश नटुक्रिएको भए १९९४ वा १९९८ को विश्वकपमा प्रमुख दाबेदार हुन्थ्यो । तर, देश टुक्रिएपछि सन् १९९४ को विश्वकपमा पूर्व युगोस्लाभियाका कुनै देश छनोट हुन सकेनन् ।
यसरी असाधारण प्राविधिक खेल, बलियो मिडफिल्ड र उत्कृष्ट स्ट्राइकर भएको र आक्रामक फुटबल खेलेर ‘बाल्कनको ब्राजिल’ उपनाम पाएको टोली सधैँका लागि छिन्नभिन्न भयो ।
युगोस्लाभियाको टोली विभाजित हुनुअघि मध्य पंक्तिका जादुगर ड्रागन स्टोइकोभिच प्रमुख खम्बा थिए, जसको ड्रिब्लिङ र पासिङ क्षमताको तुलना फ्रान्सका मिचेल प्लाटिनीसँग गरिन्थ्यो । उनी नै मैदानका वास्तविक मियो मानिन्थे । उनले समाजवादी संघीय गणराज्य युगोस्लाभिया र यो विभाजित भएपछि संघीय गणराज्य युगोस्लाभिया अर्थात् सर्बिया एन्ड मन्टेनिग्रोको टिमबाट गरी उनले ८४ खेलमा १५ गोल गरेका छन् ।
अर्का प्रमुख खेलाडीमा पर्छन्, डाभोर सुकर । मैदानमा उनी यति घातक र चतुर स्ट्राइकर मानिन्थे कि उनको देब्रे खुट्टामा परेको बल छेक्नु कुनै पनि गोलकिपरका लागि सहज हुँदैन थियो । त्यसैले उनको यो खुट्टालाई ‘सुनौलो देब्रे खुट्टा’ को उपनाम नै दिइन्थ्यो । इंग्लिस क्लब आर्सनल र वेस्ट ह्याम, स्पेनिस क्लब रियल मड्रिड र सेभिल्ला, डाइनामो जाग्रेबजस्ता युरोपका प्रतिष्ठित क्लबमा फुटबल खेलेका उनले ५२७ खेलमा २४० गोल गरेका छन् । उनले यो अवधिमा ला लिगा, स्पेनिस सुपर कप, च्याम्यिन्स लिगसहित दर्जनौँ उपाधि जितेका छन् ।
युगोस्लाभिया र क्रोएसियाका लागि गरेर ४५ अन्तर्राष्ट्रिय खेलमा ४६ गोल गरेका छन् । उनी युगोस्लाभियाले १९८७ को अन्डर–२० विश्वकप जित्दाका प्रमुख खेलाडी थिए ।
युगोस्लाभ मिडफिल्डर रोबर्ट प्रोसिनेचकी स्पेनका दुई चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिड दुवै टिमबाट खेल्ने दुर्लभ खेलाडीमध्ये एक थिए । उनको बल नियन्त्रण गर्ने क्षमता अद्भुत थियो । उनी सन् १९८७ को फिफा विश्व युवा च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी (गोल्डेन बल विजेता) हुन् ।
मेसेडोनियाका स्ट्राइकर जार्को पान्सेभले सन् १९९१ मा युरोपभरि सर्वाधिक गोल गर्दै ‘युरोपियन गोल्डेन बुट’ जितेका थिए भने सिभोनिमिर बोबान मैदानभित्र जति आक्रामक र उर्जावान मिडफिल्डर थिए मैदान बाहिर उनी क्रोएसियाली पहिचानका लागि उति नै विद्रोही थिए ।
विश्व फुटबलमा राज गरिरहेका यस्ता स्टार खेलाडीले टिम बलियो बनिरहेका बेला सन् १९९१ देखि युगोस्लाभिया जातीय र धार्मिक हिंसाको चक्रब्यूहमा फस्यो । दोस्रो विश्वयुद्धपछि समाजवादी नेता जोसिप ब्रोज टिटोले युगोस्लाभियामा सर्ब, क्रोएट, बोस्नियाक, स्लोभेन, मेसेडोनियन र अन्य जातीय समूहलाई एउटै संघीय राज्यमा बाँधेर राखेका थिए । तर १९८० मा उनको मृत्यु भएपछि केन्द्र सरकार क्रमशः कमजोर बन्दै गयो । देशमा बढ्दो बेरोजगारी, मुद्रास्फीति र ऋण संकटका कारण धनी गणराज्यले गरिब क्षेत्रलाई धान्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि चुलियो ।
सर्बियामा स्लोबोदान मिलोजेभिकको उदयसँगै सबै सर्बहरू एउटै राज्यमा हुनुपर्छ भन्ने विचार बलियो बन्यो । सन् १९९१ मा स्लोभेनियाले स्वतन्त्रता घोषणा गर्यो । संघीय युगोस्लाभ सेनासँग १० दिन युद्ध चल्यो । स्लोभेनियामा सर्बियन जनसंख्या कम भएकाले युद्ध चाँडै टुङ्गियो ।
क्रोएसियाले स्वतन्त्रता घोषणा गरेपछि त्यहाँ बसोबास गर्ने सर्बियनहरूले विद्रोह गरे । क्रोएसियाली सर्बियन विद्रोही र युगोस्लाभ सेना बीच भिडन्त भयो । सन् १९९१ देखि १९९५ सम्म चलेको युद्धमा हजारौँ मानिस मारिए र लाखौँ विस्थापित भए ।
बोस्निया एन्ड हर्जगोभिनामा मुख्य तीन समुदाय थिए, बोस्नियाक मुस्लिम, सर्बियाली र क्रोएसियाली । मुस्लिम बहुल बोस्नियाले स्वतन्त्रता घोषणा गरेपछि युद्ध विस्फोट भयो । सन् १९९२ देखि १९९५ सम्म बोस्नियामा लगभग सबै पक्ष एकअर्कासँग भिडे । सुरुमा बोस्नियाक र क्रोएसियन मुलका मिलेर सर्बियनसँग लडे । त्यसपछि उनीहरू आफैँबीच पनि युद्ध भयो । त्यसपछि फेरि मिलेर सर्बियालीविरुद्ध लडे ।
यस युद्धको सबैभन्दा डरलाग्दो पक्ष जातीय सफाया थियो । गाउँहरू जलाइए, मानिसहरूलाई जातीय पहिचानका आधारमा निकालियो, हत्या गरियो र महिलामाथि व्यापक यौन हिंसा गरियो ।
सन् १९९५ मा बोस्नियाली सर्बियन सेनाले स्रेब्रेनिकामा ८ हजारभन्दा बढी बोस्नियाक पुरुष तथा किशोरको हत्या गर्यो । यसलाई अन्तर्राष्ट्रिय अदालतहरूले नरसंहार मानेका छन् ।
सन् १९९८–१९९९मा कोशोभोमा बहुसंख्यक अल्बानियन समुदाय र सर्बियाबीच द्वन्द्व बढ्यो । कोसोभो लिबरेशन आर्मी र सर्बियाली सुरक्षा बलबीच युद्ध चर्कियो । अवस्था यतिसम्म बिग्रियो कि नेटोले सर्बियामाथि हवाई हमला गर्यो र अन्ततः सर्बियाली सेना कोसोभोबाट हट्न बाध्य भयो ।
यसरी सन् १९९१ देखि २००६ सम्मका शृङ्खलाबद्ध युद्ध र हिंसाले युरोपको एउटा समाजवादी देश ७ टुक्रामा विभाजित भयो । सर्बिया, क्रोएसिया, बोस्निया एन्ड हेर्जगोभिना, स्लोभेनिया, मेसेडोनिया, मोन्टेनेग्रो र कोसोभो अलग अलग देश बने । यस विभाजनले त्यो फुटबलको जादुई टिमलाई पनि छिन्नभिन्न पारिदियो ।
युगोस्लाभियाको विभाजनपछि फुटबल टिमका हिसाबले सबैभन्दा ठूलो फाइदा क्रोएसियालाई भयो । साबिकको टोलीका आधाभन्दा बढी चामत्कारिक खेलाडीहरू क्रोएसियन मूलका थिए । डाभोर सुकर, रोबर्ट प्रोसिनेचकी, सिभोनिमिर बोबान, रोबर्ट जेर्नीजस्ता खेलाडी क्रोएसियाको टोलीमा पुगे । सिभिनिमिर बोबान कप्तानीमा क्रोएसियाले पहिलोपटक स्वतन्त्र देशका रूपमा सन् १९९८ को विश्वकप खेल्यो र ऐतिहासिक यात्रा तय गर्यो । अर्जेन्टिना, जापान र जमाइका रहेको समूह एचमा परेको क्रोएसियाले जमाइका र जापानलाई हराएर समूह उपविजेता बन्दै अघिल्लो चरणको यात्रा तय गर्यो ।
नकटआउट चरणमा रोमानिया र जर्मनीलाई हराएर सेमिफाइनमा पुग्यो । तर, सेमिफाइनलमा आयोजक फ्रान्सविरुद्ध डाभोर सुकरले ४६औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, फ्रान्सका लागि थुरामले ४७औँ र ७०औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई फाइनलमा पुर्याए । फाइनलमा फ्रान्सले ब्राजिललाई ३–० ले हराउँदा बाल्कनको ब्राजिल उपमा पाएको टोलीबाट विभाजित भएर आएको क्रोएसियाले नेदरल्याण्डलाई २–१ ले हराउँदै तेस्रो स्थान हात पार्यो । युगोस्लाभियाको विरासत बोकेर क्रोएसियाली टोलीमा रहेका डाभोर सुकरले प्रतियोगितामा ६ गोल गर्दै गोल्डेन बुट जिते ।
रोबर्ट प्रोसिनेचकी क्रोएसियाको मुख्य खम्बा बने । उनको नाममा एउटा अनौठो रेकर्ड छ । उनी विश्वकप इतिहासमा दुईफरक देशका लागि गोल गर्ने एक मात्र खेलाडी हुन् । उनले १९९० मा युगोस्लाभियाका लागि र १९९८ मा क्रोएसियाका लागि गोल गरे ।
रूसले सोभियत संघको विरासतको उत्तराधिकारीको मान्यता पाएजस्तै फिफाले सर्बिया र मोन्टेनेग्रो सम्मिलित टोलीलाई युगोस्लाभियाको निरन्तरता मान्यो । त्यसैले १९९८ को विश्वकपमा सर्बिया र मोन्टेनेग्रोले संघीय गणराज्य एफआर युगोस्लाभियाको नाममा विश्वकप खेल्यो । ड्रागन स्टोइकोभिच सर्बियाको टोलीमा गए र उनले सन् १९९८ को विश्वकप र २००० को युरो कपमा बाँकी रहेको युगोस्लाभिया टोलीको कप्तानी गरे । हाल उनी सर्बिया राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक छन् ।
फ्री–किकका बादशाह मानिने डिफेन्डर सिनिसा मिहाइलोभिच सर्बियाली टोलीमा पुगे भने इटालीयन क्लब एसी मिलान तहल्का मच्चाएका डेजान साभिचेभिचले सर्बिया र मन्टेनेग्रो एउटै हुँदा सर्बियाली टोलीबाट खेले र पछि मन्टेनेग्रो अलग भएपछि त्यहाँको फुटबल संघको अध्यक्ष बने ।
मिडफिल्डर मेहमद बाजदारेभिच बोस्नियाली टोलीमा लागेर त्यहाँको राष्ट्रिय टोलीको पहिलो कप्तान बने भने ‘कोब्रा’ उपनामले चिनिने जार्को पान्सेभ उत्तरी मेसेडोनिया गएर त्यहीको टोलीबाट खेले । तपाई विश्वकप फुटबलमात्रै नभएर क्लब फुटबलमा पनि चासो राख्नुहुन्छ भने एडिन जेकोको नाम सुन्नुभएको होला, जसले म्यान्चेस्टर सिटी, रोमा, इन्टरमिलान र फेनरवाचेजस्ता क्लबबाट फुटबल खेलेका छन् । यही पूर्व युगोस्लाभियाको विरासतमा हुर्किएका उनले २००७ देखि बोस्निया एन्ड हर्जगोभिनाको राष्ट्रिय टोलीबाट १४८ खेलमा ७३ गोल गरेका छन् ।
युगोस्लाभियाबाट विभाजित देशमध्ये सबैभन्दा बढी क्रोएसियाले ७ पटक विश्वकप खेलेको छ भने सर्बियाले ४ पटक, स्लोभेनियाले ३ पटक र बोस्निया एन्ड हर्जगोभिनाले २ पटक विश्वकप खेलिसकेका छन् । तर क्रोएसियाबाहेक कुनै टोलीले समूह चरण पार गर्न सकेका छैनन् । नर्थ मेसेडोनिया, मन्टेनेग्रो र कोशोभो भने विश्वकपमै पुग्न सकेका छैनन् ।
फिफाले सर्बियालाई उत्तराधिकारी माने पनि युगोस्लाभियाबाट अलग भएपछि सबैभन्दा सफल उत्तराधिकारी क्रोएसिया बनेको छ । करिब ४० लाख जनसंख्या भएको क्रोएसियाले २०१८ मा विश्वकपको फाइनलमा पुगेर सनसनी मच्चायो । समूह चरणमै एन्टी रेबिक, लुका मोड्रिच र इभान राकिटिचको गोलमा अर्जेन्टिनालाई ३–० ले हराएको क्रोएसिया नकआउट चरणमा डेनमार्क, रुस र इंग्ल्याण्डलाई पन्छाउँदै फाइनलमा पुगेको थियो ।
क्रोएसियालाई विश्वकपको फाइनलमा पुर्याएका लुका मोड्रिचले प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल पाएका थिए । यी तिनै लुका मोड्रिच थिए, जसको बाल्यकालको कथा युगोस्लाभिया विभाजनका बेला भएको युद्ध, आम हत्या र शरणार्थीसँग जोडिन्छ । उनी ९ सेप्टेम्बर, १९८५ मा तत्कालीन युगोस्लाभियामा पर्ने जाडर क्षेत्रमा जन्मिएका हुन् । जुन अहिले क्रोएसियामा पर्छ । क्रोएसियाली स्वतन्त्रताको युद्धमा उनी परिवारसँगै विस्थापित भए, हजुरबुवाको हत्या भयो र घर जलाइयो ।
स्वतन्त्रता युद्धको आगोबीच हुर्किएका निकै शान्त स्वभावका मोड्रिचले डाइनामो जाग्रेब, टोटनहम हटस्पर, रियल मड्रिड र एसी मिलानबाट व्यावसायिक फुटबल खेले र हरेक लिगमा उपाधि जितेका छन् । उनले रियल मड्रिडमा रहँदा २८ वटा उपाधि जितेर क्लबको इतिहासकै सबैभन्दा बढी उपाधि जित्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । रियलका लागि उनले ६ पटक त च्याम्पियन्स लिग नै जितेका छन् ।
क्रोएसियालाई विश्वकपको फाइनलमा पुर्याएर गोल्डेन बल जितेका उनले २००७ पछि लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको दबदबा तोड्दै २०१८ को बालोन डि’ओर जिते । उनकै कप्तानीमा २०२२ को विश्वकपमा क्रोएसिया फेरि तेस्रो भयो । यसपटक फेरि उनी क्रोएसियाली फुटबलको नेतृत्व गर्दै विश्वकपमा आइपुगेका छन् । आज क्रोएसिया, सर्बिया र बोस्नियाजस्ता देशले फुटबलमा जति प्रगति गरेका छन् । त्यसको श्रेय त्यही युगोस्लाभियाली टोलीलाई जान्छ ।
धेरै फुटबल समर्थक र विश्लेषकहरूका अनुसार सन् १९९० को दशकको संयुक्त युगोस्लाभ टोली विश्वकप जित्ने स्तरको हुन सक्थ्यो । यदि युगोस्लाभिया एउटै देश रहन्थ्यो भने विश्व फुटबलको शक्ति सन्तुलन नै फरक हुन सक्थ्यो ।
युगोस्लाभिया राजनीतिक रूपमा विघटित भयो । तर त्यसको फुटबल विरासत कति शक्तिशाली थियो भन्ने कुरा विभाजनपछिका देशहरूको प्रदर्शनले देखाउँछ ।
विभाजनको मात्र ६ वर्षपछि, सन् १९९८ को विश्वकपमा तेस्रो भएको क्रोएसिया २०१८ मा दोस्रो र २०२२ मा फेरि तेस्रो बन्यो । करिब ४० लाख मात्र जनसंख्या भएको क्रोएसियाले यो स्तरको प्रदर्शन गर्नु र सर्बियाले निरन्तर विश्वकपमा स्थान बनाउनुले युगोस्लाभहरूको रगतमै फुटबलको जीन लुकेको स्पष्ट हुन्छ । युगोस्लाभ फुटबलको त्यो सुनौलो र कलात्मक अध्याय भने इतिहासको पानामा एउटा सुन्दर तर अधुरो सपना बनेर रहनेछ ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०८३
२१:०९
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)