बुटवलबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा ६ चिनियाँ पक्राउ
nepalviews.com · Thu Jun 18 15:35:58 GMT 2026

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट नेपालमा कानुनी रूपमा प्रतिबन्धित अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबारमा संलग्न रहेको आरोपमा ६ जना चिनियाँ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बिहीबार छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार विगत केही दिनदेखि चिनियाँ नागरिकहरूको एक समूहले विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको गोप्य सूचना प्राप्त भएपछि निगरानी बढाइएको थियो । सोही सूचनाका आधारमा बुटवल–१२ स्थित एक स्थानमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूमा ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सुन हुइ, ३५ वर्षीय चाओ छिउछन, ३१ वर्षीय सियाङ जियाशुन र ४५ वर्षीय ली बिन रहेका छन् ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले बिनान्स, ओकेएक्स, इन्टोकन, पेटीएम, भिम, मोबिक्विक तथा फोनपे लगायतका एप्स र वेबसाइट प्रयोग गरी क्रिप्टोकरेन्सी कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र २ थान ल्यापटप बरामद गरेको छ । बरामद सामग्री अवैध कारोबारमा प्रयोग भएको आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले पक्राउ परेका ६ जनाविरुद्ध अभौतिक मुद्रा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिए ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार, लगानी तथा माइनिङलाई गैरकानुनी घोषणा गरेको छ । यस्तो अवस्थामा प्रहरीले पछिल्लो समय अवैध डिजिटल मुद्रा कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
नेपाल प्रहरी