क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
barnanmedia.com · Thu Jun 18 15:43:01 GMT 2026

रुपन्देहीको बुटवलबाट कानुनले निषेध गरेको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार ७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेकाे छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–१२ क्षेत्रमा केही दिनदेखि चिनियाँ नागरिकहरूले विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुधबार राति करिब १ बजे सञ्चालन गरेको विशेष अभियानका क्रममा उनीहरूलाई कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ४९ वर्षीय छिओङ गुओफु, ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सन हुई, ३५ वर्षीय झाओ किउचेन, ३१ वर्षीय सियाङ जियासुन, ४५ वर्षीय ली बिन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले पेटीएम, फाेन पे लगायतका एप्स तथा प्लेटफर्म प्रयोग गरी क्रिप्टोकरेन्सी कारोबार गरिरहेका थिए।
कारबाहीका क्रममा प्रहरीले विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र २ थान ल्यापटप बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
नेपाल प्रहरी