मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मस्कोमाथि युक्रेनको सबैभन्दा ठूलो ड्रोन आक्रमण

baahrakhari.com · Thu Jun 18 16:16:58 GMT 2026

काठमाडौं । रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता रुसी राजधानी मस्कोले युक्रेनको तर्फबाट हालसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमणको सामना गरेको बीबीसीले जनाएको छ ।

करिब २०० वटा ड्रोनले मस्को र आसपासका क्षेत्रहरूलाई निसाना बनाएपछि आकाशमा बाक्लो कालो धुवाँ फैलिएको देखिएको छ ।

मस्को क्षेत्रका गभर्नर आन्द्रेई वोरोब्योभका अनुसार, यस आक्रमणमा कम्तीमा १७ जना घाइते भएका छन् ।

रुसी रक्षा मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभरि प्रहार गरिएका झन्डै एक हजार युक्रेनी ड्रोन र चारवटा क्रुज मिसाइललाई हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको छ ।

रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको एक तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा एकजनाको मृत्यु भएको बताइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्को क्षेत्रमाथिको यो आक्रमणलाई रुसमाथि गरिएको लामो दुरीको प्रतिकारात्मक कारबाही भएको बताएका छन् । उनले यो आक्रमण गत हप्ता रुसले किभमा गरेको आक्रमणको जवाफ भएको बताएका छन् ।

जेलेन्स्कीले भने, “हामी यो युद्ध चाहँदैनौँ र कहिल्यै चाहेका पनि थिएनौँ । तर, यदि युक्रेन जल्यो भने, मस्को पनि जल्नेछ ।”

उनले रुसलाई युद्ध अन्त्य गर्न कूटनीतिक समाधानतर्फ आवश्यक कदम चाल्न आग्रह पनि गरेका छन् ।

मस्कोको दक्षिण–पूर्वमा रहेको कापोत्न्या तेल रिफाइनरीमा एक महिनाभित्र तेस्रोपटक आक्रमण भएपछि ठूलो आगलागी भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विस्फोटको प्रभावले ठूलो तेल ट्यांकीको ढकन आकाशतर्फ उडेको देखिएको छ । ड्रोनका भग्नावशेष खसेपछि नजिकै रहेको एक सपिङ सेन्टरमा पनि आगलागी भएको रिपोर्ट गरिएको छ

आक्रमणपछि मस्कोका चारवटै अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएका थिए । जसका कारण ५०० भन्दा बढी उडानहरू रद्द वा ढिलो भएका थिए ।

#युक्रेन

#मस्को

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय