स्वास्थ्य बीमाको पुनःसंरचनाका लागि तयारी सुरु
canadanepal.com · Thu Jun 18 16:46:30 GMT 2026

काठमाडौँ - विगतमा भुक्तानीलगायतको समस्या झेलिरहको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले काम सुरु गरेको छ । यसको पहिलो चरणमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारीसहित प्रदेश तथा स्थानीय तहका स्वास्थ्यकर्मी तथा अधिकारीसँग बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, आवश्यक वर्गको पहुँचमा पुर्याउने र बीमाको दाबी रकम भुक्तानीलाई समस्यारहित बनाउने उपायहरूबारे छलफल गरेको थियो ।
छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सरकारले बीमा कार्यक्रको पुनःसंरचना र यसलाई आर्थिक भारको विषय बन्न नदिनका लागि गृहकार्य गरिरहेको जानकारी दिइन् । 'स्वास्थ्य बीमा कार्यक्रम अत्यन्त आवश्यक भएको वर्ग कुन हो भनेर छुट्याउनुपर्छ, त्यसका लागि गृहकार्य भइरहेको छ', उनले भनिन् ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालले स्वास्थ्य बीमा क्षेत्रमा हालसम्म भएका प्रगति तथा विभिन्न अध्ययनको सार प्रस्तुत गरेकी थिइन् । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रम विभिन्न संरचनागत र प्रवृत्तिगत समस्याका कारण समस्याग्रस्त बने पनि सच्याएर अघि बढाउनुको विकल्प छैन ।
साथै बीमा कार्यक्रम वार्षिक ६ अर्ब ७५ करोड घाटामा छ । नयाँ सरकार गठन भएपछि बीमाबापतको रकम तत्काल उपलब्ध गराउँदै आए पनि वार्षिक ६ अर्ब ५७ करोड घाटामै छ । अस्पतालको बाँकी बीमा रकम भुक्तानी गर्न १६ अर्ब आवश्यक रहेको जानकारी पनि उनले दिइन् ।