मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुम्वासीलाई व्यवस्थापन गर्ने, बेगनासमा वाटर स्पोर्टस चलाउने

baahrakhari.com · Thu Jun 18 17:04:18 GMT 2026

पोखरा । पोखरा महानगरपालिकाले सुकुम्वासीहरूलाई भूमि समस्या समाधान समितिको समन्वयमा व्यवस्थापन गर्ने भएको छ ।

बिहीबार पोखरा सभागृहमा आयोजित नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख धनराज आचार्यले महानगर क्षेत्रमा २० हजार १०६ जना भूमिहीनको बसोबास रहेको बताए ।

“महानगर क्षेत्रमा बसोबास गरिरहेका २० हजार १०६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई भूमि समस्या समाधान समितिको समन्वयमा क्रमशः व्यवस्थापन गरिनेछ,” उनले भने ।

यस्तै, फिर्केखोलाको खोलाघर तथा पोखरा बसपार्कको जग्गामा बनेका संरचनाहरू हटाउँदा विस्थापित भएकाहरूलाई व्यवस्थापन गरिने उनले बताए । महानगरले पोखराको प्रतिनिधित्व र प्रतिध्वनि हुने पोखरा थिम गीत तयार पार्नेछ ।

पातलेछाँगोमा सिसाको पुल निर्माण आयोजनालाई पनि महानगरले आगामी वर्ष अगाडि बढाउने भएको छ ।

“पातलेछाँगोमा सिसा पुल निर्माण आयोजनालाई यसै आवदेखि सञ्चालनमा ल्याई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ,” नगरप्रमुख आचार्यले भने, “फोहोरमैला प्रशोधन केन्द्र र सेती खोँचमा क्यान्टिलिभिर वाक निर्माण कार्य सुरु गरिनेछ ।”

महानगरपालिकाले बेगनासतालमा वाटर स्पोर्ट्स परियोजना सञ्चालन, हर्पन खोला करिडोर निर्माण गरी एड्भेन्चर बोटिङ परियोजना सञ्चालनका लागि अध्ययन गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा पोखरा रिङरो‍डको डीपीआर निर्माण प्रक्रिया यसै आवबाट सुरु गरिने, नगर क्षेत्रमा रहेका तालहरूको संरक्षण तथा सौन्दर्यीकरणलगायत सम्भाव्य आयोजनाहरू सावर्जनिक निजी साझेदारी अवधारणामा अगाडि बढाइने उल्लेख गरिएको छ ।

फेवातालको हकमा महानगरपालिकाले संघ र प्रदेश सरकारसँगको साझेदारीमा सर्वोच्च अदालतको आदेशानुसार फेवाताल संरक्षण सहित मापदण्ड कार्यान्वयन गरिने उल्लेख गरेको छ । ताल वरपर हरियाली क्षेत्र, सार्वजनिक पार्क तथा पर्यावरणीय पर्यटन पूर्वाधार निर्माणमा जोड दिइने नगरप्रमुख आचार्यले बताए ।

सबै विद्यालयमा आर.यू. एण्ड ग्रीन क्लब गठन गरिने र विद्यालय तहमा मनोसामाजिक परामर्श, खेलकुद तथा नेतृत्व विकासलाई प्रवर्धन गर्न मनोसामाजिक प्रशिक्षक तथा खेलकुद शिक्षकका लागि आधारभूत तालिम अभियानका रूपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पोखरा महानगरपालिकाका प्रमुख तीन नाका प्रवेश तथा सीमा क्षेत्रमा धार्मिक पर्यटकहरूको सुविधाका लागि भान्छाघर तथा सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनको व्यवस्था मिलाइने उनले बताए ।

महानगरपालिकाले प्रत्येक वडामा कम्तीमा एक आधुनिक, व्यवस्थित र अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्ने भएको छ ।

सडक सुरक्षालाई प्रभावकारी बनाउन सार्वजनिक रुपमा सडकतर्फ जडान गरिने सीसीटिभी क्यामराका सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाबारे जनचेतना अभिवृद्धि गरिने उनले बताए ।

सुशासन, कार्यसम्पादन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक योगदान पु‍र्‍याउने सहकारी संस्थाहरूमध्येबाट सर्वोत्कृष्ट १० सहकारीलाई पुरस्कार तथा सम्मान प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि, शिक्षा तथा उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय योगदान पु‍र्‍याउने व्यक्तिहरूमध्येबाट ‘वर्ष कृषक’, ‘वर्ष शिक्षक/शिक्षिका’ तथा ‘वर्ष उद्यमी’ घोषणा गरी नगद पुरस्कार सहित सम्मान गरिने तथा पर्यटनको राजधानी पोखराको पहिचानलाई थप सुदृढ बनाउन पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु‍र्‍याउने उत्कृष्ट पर्यटन व्यवसायी तथा पर्यटन संस्थाहरूलाई वार्षिक पर्यटन उत्कृष्टता पुरस्कार प्रदान गरिने आचार्यले बताए ।

#नीति तथा कार्यक्रम

#पोखरा महानगरपालिका

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)