मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘चलचित्रको योगदानलाई सम्मान गरिन्छ’

gorkhapatraonline.com · Tue May 26 00:22:28 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विदेशी महोत्सवमा नेपाली चलचित्रले सहभागिता जनाउनु भनेको अन्तर्राष्ट्रिय स्तरमै उपलब्धि भएको बताउनुभएको छ ।

विश्वकै प्रतिष्ठित र गरिमामय ‘कान्स फिल्म फेस्टिभल’ मा नेपाली चलचित्रको इतिहासमा अभूतपूर्व रेकर्ड कायम गरेर स्वदेश फर्किएको चलचित्र ‘एलिफेन्ट्स इन द फग’ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले कला, संस्कृतिसँगै प्राकृतिक स्थलको प्रचारका लागि पनि चलचित्र निकै महत्वपूर्ण भएको बताउनुभयो । उक्त सम्मानले नेपाली चलचित्रको शिल्प र प्राविधिक सम्भावनालाई विश्वसामु थप स्पष्ट बनाएको धारणा उहाँले व्यक्त गर्नुभयो । “पहिलो चलचित्रबाटै यति शक्तिशाली अन्तर्राष्ट्रिय अवार्ड जित्न सकिन्छ भने अबको १० वर्षसम्म मेहनत गर्ने हो भने नेपाली चलचित्र क्षेत्र कहाँ पुग्ला ?,” उहाँको प्रश्न थियो ।

चलचित्र योगदानलाई कसरी सम्मान गर्ने भनेर छलफल गर्ने पनि मन्त्री तिमिल्सिनाले बताउनुभयो । “तपाईंहरूको योगदानको सम्मान कसरी हुन सक्छ, चलचित्रलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने विषयमा बसेर सल्लाह गर्न बाँकी नै छ । यहाँहरूको सुझाव अनुसार नै सरकार अघि बढ्न तयार छ,” उहाँले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले अन्तर्राष्ट्रिय मञ्चमा चलचित्रले गौरव गर्ने अवसर प्रदान गरेकोमा चलचित्रकर्मीलाई बधाई दिनुभयो । “चलचित्रले अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत हुँदै गर्दा त्यो उपलब्धि उक्त चलचित्रकर्मीसँगै देशको हुन्छ, त्यस कारण हामी बधाई दिन उपस्थित भएका छौँ,” उहाँले भन्नुभयो ।

कान्स चलचित्र महोत्सवको अत्यन्तै महत्वपूर्ण र विश्वभरका उत्कृष्ट चलचित्रहरू मात्र छानिने ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनु नै नेपाली चलचित्रका लागि आफैँमा ठुलो उपलब्धि भएको निर्देशक अविनाश विक्रम शाहले बताउनुभयो । चलचित्र निर्माण गर्दा अप्ठ्यारो भए पनि देशमा पाएको सम्मानले प्रोत्साहित भएको उहाँले बताउनुभयो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले यसै साता कार्यक्रम आयोजना गरी उक्त चलचित्रलाई दुई लाख ५० हजार रुपियाँसहित सम्मान गर्ने जानकारी दिनुभयो । उहाँले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ आत्मविश्वास दिएको बताउनुभयो । चलचित्रका निर्देशक अविनाश विक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामालाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र माला लगाउँदै सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले स्वागत गर्नुभएको थियो ।

चलचित्रले विश्वका दिग्गज चलचित्रहरूलाई पछाडि पार्दै ‘जुरी प्राइज’ जित्न सफल भयो । नेपाली चलचित्रले कान्सको मुख्य विधाको यति प्रतिष्ठित मञ्चमा यो स्तरको ठुलो पुरस्कार जितेको इतिहासमै पहिलो पटक हो । महोत्सवमा चलचित्रको आधिकारिक प्रिमियर प्रदर्शन सकिएपछि हलमा उपस्थित विश्वभरका ख्याति प्राप्त चलचित्रकर्मी, समीक्षक र दर्शकहरूले जुरुक्क उठेर करिब ९ मिनेटसम्म अनवरत रूपमा ताली बजाउँदै चलचित्रको मुक्तकण्ठले प्रशंसा गरेका थिए । जुन दृश्यले विश्व बजारमा नेपाली मौलिक चलचित्र र यसको कथा भन्ने शैलीको एउटा बलियो र अमिट छाप छाडेको समीक्षकहरूको भनाइ छ ।

निर्देशक शाहकै लेखनसमेत रहेको चलचित्रले नेपालको ग्रामीण भेगको एउटा यथार्थपरक र संवेदनशील कथालाई पर्दामा उतारेको छ । चलचित्रमा जङ्गली हात्तीको आतङ्क र त्यसबाट निरन्तर आक्रान्त बनिरहेको एउटा दुर्गम बस्तीको कथा छ । जङ्गली हात्तीको वितण्डाका कारण गाउँलेले भोग्नु परेको सास्ती, समाजमा आफ्नो हराएको सन्तानको खोजीमा भौँतारिएकी एक आमाको पीडा र न्याय तथा सुरक्षाका लागि राज्यको निकाय (प्रहरी) सँग सहारा माग्न पुगेका निरिह ग्रामीण बासिन्दाको सङ्घर्षलाई फिल्ममा जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा पुष्पा थिङ, दिपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डे, गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, सञ्जय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा, अनिल कुर्मी र आकाङ्क्षा कार्कीलगायत कलाकारको मुख्य तथा सशक्त भूमिका रहेको छ । यो ऐतिहासिक सफलताले आगामी दिनमा नेपाली मौलिक कथाहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन र विश्वका दर्शकमाझ स्थापित गराउन नयाँ पुस्ताका चलचित्रकर्मीलाई ठुलो ऊर्जा र प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय