युक्रेनद्वारा रुसमा युद्ध सुरु भएयताकै ठुलो हमला
barnanmedia.com · Thu Jun 18 20:15:01 GMT 2026

युक्रेनले बिहीबार रुसको राजधानी मस्कोमा ठुलो आक्रमण गरेको छ। यो युद्ध सुरु भएयताकै युक्रेनले रुसमा गरेको भीषण हमला मानिएको छ।
रुसको राजधानी वरपरका लक्ष्यमा लगभग २०० ड्रोन प्रहार गरिएको छ।जसका कारण धेरै स्थानमा आगलागी भएको छ। आकाशमा बाक्लो कालो धुवाँ उडेको देखिएको छ।
मस्कोका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार आक्रमणमा १७ जना घाइते भएका छन्।
रुसको रक्षा मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभरि लगभग १,००० ड्रोन र चार युक्रेनी क्रुज मिसाइल खसालिएको छ।
दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको तेल भण्डारण सुविधामा पनि आक्रमण गरिएको छ, जसमा एक जनाको मृत्यु भएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक मस्को क्षेत्रलाई निसाना बनाइएको बताएका छन्।
उनले भनेका छन्, 'युद्ध अन्त्य गर्ने समय आएको छ, रुसले कूटनीतिमार्फत आवश्यक कदम चाल्नुपर्छ।'
जेलेन्स्कीका अनुसार 'यो ठुलो ड्रोन हमला' गत हप्ता किएभमा गरिएको आक्रमणको जवाफ हो। त्यसबेला एक प्रमुख धार्मिक स्थलमा आगलागी भएको थियो।
उनले भनेका छन्, 'हामी यो युद्ध चाहँदैनौँ, कहिल्यै चाहँदैनौँ, तर युक्रेन जल्यो भने तपाईंको मस्को पनि जल्नेछ।'
दक्षिणपूर्वी मस्कोको कपोट्नया रिफाइनरीमा आगलागी भएको छ। यो एक महिनामा रिफाइनरीमा तेस्रोपटक र यस हप्ता दोस्रोपटकआक्रमण गरिएको हो।
आकाश नै आगो र कालो धुवाँले भरिएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक धेरै भिडिओमा शक्तिशाली विस्फोट देखिएको छ, तेल भण्डार ट्याङ्कीको विशाल ढक्कन कैयौँ मिटर माथि हावामा उडिरहेको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
भ्लोदोमिर जेलेन्स्की