मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाघ संरक्षणमा असाधारण उपलब्धी

annapurnapost.com · Sun Jul 31 00:25:00 GMT 2022

सय वर्षअघिसम्म पनि एसियाभर बाघको संख्या १ लाख हाराहारीमा थियो। तर सन् २००० तिर आइपुग्दा ९५ प्रतिशतले बाघ घटे र ४ हजारमा सीमित भए। सन् २०१० मा आएर बाघको बासस्थान भएका मुलुकका प्रतिनिधिहरू रुसको सेन्ट पिटर्सवर्गमा भेला भएर संकल्प गरेका थिए– बाघको संख्या दोब्बर पुर्‍याउने। भेलाका सहभागी १३ देशमा नेपाल पनि एउटा थियो। दशकभित्र बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धतामा नेपालले आकर्षक उपलब्धि हासिल गरेको छ। सन् २०१० मा जम्मा १२१ वटा पाटे बाघ भएको नेपालमा अहिले ३५५ वटा पुगेका छन्। बुधबार यो संख्या सार्वजनिक भएको छ। यसबीचमा बाघ संरक्षणमा नेपालले जुन कामहरू गर्‍यो त्यसैको नतिजा हो यो। चोरी सिकारी रोक्न गस्ती बाक्लो बनाउनु, बाघ हिँड्ने जैविक मार्गहरूको संरक्षण गर्नु, बाघको बासस्थानलाई विस्तार र सुरक्षित पार्नु, क्यामेराबाट निगरानी गर्नु र समुदायलाई संरक्षणको पहरेदार बनाउनुजस्ता कामबाटै यी उपलब्धि हासिल भएका हुन्।

जसै बाघ बढेका छन्, स्थानीय समुदायको त्रास पनि वृद्धि भएको छ। जुन बाघको संरक्षणमा बर्दिया, चितवन, कञ्चनपुर, पर्सालगायत जिल्लाका बासिन्दा लागे जोखिममा पनि उनीहरू नै छन्। सन् २०१८ देखि बाघको आक्रमणबाट मात्रै बर्दियामा ३० जनाले ज्यान गुमाएका छन्। जब कि यो अवधिमा पासोमा परेर वा अन्य कारणले मरेका बाघको संख्या भने त्यसको आधाभन्दा कम छ। बाघ संरक्षणमा प्राप्त उपलब्धिसँगै थपिएको चुनौती मानव–बाघ द्वन्द्व व्यवस्थापन हो। वनपैदावारमा निर्भर स्थानीयको जीविकोपार्जनको वैकल्पिक व्यवस्था पनि हो। त्यसबाटै प्रकृति, बाघ र मानव जीवनमा सन्तुलन कायम गर्न सकिन्छ। प्रकृति संरक्षण र सुरक्षित मानव जीवनका लागि सरकारी पहल जरुरी छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)