पोखरालाई केवल दुई घण्टाको यात्रामा जोड्ने लक्ष्यसहित ‘एक्सप्रेस वे’ द्रुतमार्ग निर्माण
barnanmedia.com · Thu Jun 18 23:15:21 GMT 2026

सरकारले राजधानी काठमाडौं र पर्यटकीय नगरी पोखरालाई केवल दुई घण्टाको यात्रामा जोड्ने लक्ष्यसहित ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) निर्माणको अध्ययन प्रक्रिया अघि बढाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभा बैठकमा उक्त जानकारी दिएका हुन्।
मन्त्री लम्सालका अनुसार सरकारले पोखरा–बुटवल एक्सप्रेस वे निर्माणलाई पनि उच्च प्राथमिकतामा राखेको छ। सो परियोजनाको ठेक्का प्रक्रिया चालु आर्थिक वर्षभित्रै सुरु गर्ने लक्ष्य राखिएको उनले बताए।
“दुई घण्टामै पोखरा पुग्नेगरी बुटवल–पोखरा एक्सप्रेस वेको टेन्डर यही वर्ष आह्वान गर्ने लक्ष्य छ,” मन्त्री लम्सालले भने, “काठमाडौं–पोखरा दुई घण्टामै पुग्ने अर्को द्रुतमार्गको अध्ययन पनि अघि बढाइएको छ र त्यसको कार्ययोजना तयार गर्ने काम भइरहेको छ।”
सरकारले पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै देशभर रणनीतिक महत्वका आठ वटा पर्यटकीय राजमार्ग निर्माण गर्ने योजना बनाएको छ। यसका लागि करिब ६ सय अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ।
मन्त्री लम्सालले पूर्व–पश्चिम राजमार्गपछि अब पर्यटन क्षेत्रलाई लक्षित गरेर नयाँ पूर्वाधार विकासमा जोड दिइएको बताए। उनका अनुसार भारतलगायत छिमेकी मुलुकबाट आउने पर्यटकको संख्या बढ्दै जाँदा पोखरामा अत्यधिक चाप देखिन थालेको छ, जसलाई व्यवस्थापन गर्न द्रुत र आधुनिक सडक सञ्जाल आवश्यक भएको छ।
सरकारले सुदूरपश्चिमको अपिनम्पा क्षेत्रदेखि पूर्वी नेपालको पाथीभरा क्षेत्रसम्म जोड्ने पर्यटकीय एक्सप्रेस वे अवधारणामा समेत काम गरिरहेको मन्त्री लम्सालले जानकारी दिए।
यदि प्रस्तावित योजनाहरू कार्यान्वयनमा गएमा नेपालको पर्यटन, व्यापार तथा आन्तरिक आवागमन क्षेत्रमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ। काठमाडौं–पोखराबीचको यात्रा समय उल्लेखनीय रूपमा घट्ने भएकाले पर्यटन उद्योगले समेत यस योजनालाई चासोका साथ हेरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ