अमेरिका–इरान शान्ति सम्झौतामा नेपाल सरकारको स्वागत
barnanmedia.com · Thu Jun 18 23:39:56 GMT 2026

संयुक्त राज्य अमेरिका र इरानबिच आज भएको इस्लामाबाद समझदारीपत्रमा भएको हस्ताक्षरलाई नेपाल सरकारले स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालले यसअघि ८ अप्रिल २०२६ मा घोषणा गरिएको युद्धविरामको स्वागत गरेको स्मरण गराउँदै संयुक्त राज्य अमेरिका र इरानका राष्ट्रपतिबिच शान्ति सम्झौतामा हस्ताक्षर हुनु कूटनीतिक प्रयासहरूको सफल परिणति भएको उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार नेपाल सरकारले द्वन्द्व सुरु भएदेखि नै पश्चिम एसियाको अवस्थाको नजिकबाट हेर्दै आएको छ । उक्त द्वन्द्वले नेपालसहित विश्व अर्थतन्त्रमा व्यापक प्रभाव पारेको भन्दै सरकारले शान्ति सम्झौताले पश्चिम एसियामा दीर्घकालीन शान्ति र स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।
वक्तव्यमा द्वन्द्वका कारण प्रभावित समुद्री यातायात तथा जलमार्ग सञ्चालनलाई पुनः सामान्य बनाउन पनि उक्त सम्झौताले योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नेपालले शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने मुलुकहरूको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्दै क्षेत्रीय तथा विश्वव्यापी शान्ति र स्थायित्व प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायबाट भइरहेका सबै प्रयासप्रति आफ्नो समर्थन दोहोर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)