मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

डिजिटल प्रविधिमा सहकार्यको प्रस्ताव

gorkhapatraonline.com · Fri Jun 19 00:05:47 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयमा बिहीबार भएको सो भेटवार्तामा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो ।

उहाँले नेपाल सरकारले अगाडि बढाएको डिजिटल नेपालको अभियानलाई प्रभावकारी बनाउन हुवावे विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेकोसमेत उल्लेख गर्नुभयो । हुवावेले दूरसञ्चार पूर्वाधारको आधुनिकीकरण, स्वच्छ ऊर्जा प्रविधि, आधुनिक डेटा सेन्टर निर्माण, कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ तथा डिजिटल पूर्वाधार विकासमा काम गरिरहेको र यी क्षेत्रमा नेपालसँग दीर्घकालीन सहकार्य गर्न चाहेको उहाँको भनाइ थियो ।

सूचना तथा सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै देशभर गुणस्तरीय तथा भरपर्दो दूरसञ्चार सेवा विस्तार गर्न लागिएको उल्लेख गर्नुभयो । नेपालमा हुवावेले लामो समयदेखि दूरसञ्चार पूर्वाधार निर्माण तथा प्राविधिक सेवा दिँदै आएकोमा कम्पनीको सेवा र कार्यसम्पादनमाथि कुनै प्रश्न उठ्ने अवस्था आउन नहुने पनि सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताउनुभयो । उहाँले काममा कुनै समस्या वा कमजोरी देखिए त्यसलाई तत्काल समाधान गर्न तथा पारदर्शिता र कार्यकुशलतालाई उच्च प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो, “नेपालमा हुवावेले गरेको काम र सेवामाथि कुनै प्रश्न उठ्नु हुँदैन । कतै समस्या देखिन्छ भने त्यसलाई तत्काल समाधान गर्नु पर्छ । पारदर्शी, जिम्मेवार र सेवा प्रवाहमा कुनै समस्या नदेखिने गरी काम गर्नुहोला ।”

नेपाल टेलिकममा हुवावेको प्राविधिक सहयोग रहेको सन्दर्भमा उपभोक्ताबाट आउने गुनासो समाधानका लागि दुवै पक्षले समन्वयात्मक रूपमा काम गर्नुपर्ने सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल टेलिकमको सेवाबारे नागरिकका धेरै गुनासो आइरहेका छन् । प्राविधिक वा अन्य कुनै समस्या छन् भने टेलिकम र हुवावेले समन्वयात्मक रूपमा तत्काल समाधान गर्नु पर्छ । नागरिकले गुणस्तरीय सेवा पाउने विषयमा सबै गम्भीर हुन जरुरी छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)