मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

थप चिया उद्योग बन्द

gorkhapatraonline.com · Fri Jun 19 00:11:14 GMT 2026

नेपाली चिया भारतीय बजारमा जान कडाइ भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै बिहीबारदेखि थप उद्योग बन्द भएका छन् । यसरी बन्द हुने उद्योगमा अर्गानिक प्रमाणीकरण भएर तेस्रो मुलुकमा चिया निर्यात गर्दै आएका उद्योग छन् ।

टी एलाइन्स अफ नेपालमा (टान) आबद्ध इलाम, पाँचथर, कास्की र भोजपुरका समेत गरेर १६ उद्योग बन्द भएको टानका जीवन न्यौपानेले जानकारी दिनुभयो । इलाममा मात्र ७९ वटा चिया उद्योग बन्द भएका छन् । यस्तै बिहीबारदेखि झापाका ३० उद्योगसमेत बन्द भएका छन् ।

सरकारले चियाको सहज निकासी र वैदेशिक बजारको पहल नगरेसम्म उद्योग सञ्चालनमा नल्याउने चिया व्यवसायीले बताएका छन् । “दैनिक रूपमा चिया नस्ट भएको छ, सरकारले त्यो पनि हेरेको छ, सुनेको छ, हामी किसानको चियाप्रति चिन्तित छौँ । सरकारले चियालाई जसरी लिनुपथ्र्यो त्यो लिन सकेन अर्थात् चियाप्रति चासो देखाएन त्यसकारण हामी उद्योग बन्द गर्न बाध्य भयौँ ।” चिया व्यवसायी ज्ञानु सुब्बाले भन्नुभयो, “माथि केन्द्रमा प्रधानमन्त्रीदेखि सबै मन्त्री र सचिवसँग भेटेर हामीले छलफल ग¥यौँ, अहिलेसम्म त्यो छलफलमै सीमित भयो ।”

गत मे १ देखि २०२६ मा भारतीय टी बोर्डले भारत आयात गरिने चियामा स्टेन्डर्ड अपरेटिङ प्रोसिड्युअर (एसओपी) लागु गरेको थियो । यो नियम लागु भएपछि पूर्ण अर्गानिक प्रमाणित भएर तेस्रो मुलुक निर्यात भइरहेको चियामा भारतीय ल्याबमा दोष देखाउनु भने नेपाली चियालाई पूर्ण अवरोध गर्न खोजेको सङ्केत रहेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो ।

भारत मात्र नभएर पाकिस्तान, टर्कीलगायतका देशमा पनि नेपाली चियाको बजार राम्रो भए पनि उद्योगी आफैँले मात्र ती देशमा चिया पठाउन सक्ने अवस्था नरहेको अध्यक्ष पराजुलीको भनाइ छ । “भारतबाहेकका देशमा नेपाली चियाको बजार छ तर त्यहाँ पठाउँदा लाग्ने कर हामीले बेहोर्न सक्दैनौँ । त्यसमा भने नेपाल सरकार र ती देशका सरकारबिच व्यापारिक सम्झौता आवश्यक पर्छ ।”

पराजुलीले भन्नुभयो, “अहिलेको अवस्थालाई सरकारले समस्याका रूपमा होइन अवसरका रूपमा लिएर काम गर्नु पर्छ । हामी चिया व्यवसायी जस्तो सहयोग गर्न पनि तयार छौँ ।” विश्वमै उत्कृष्ट घोषित भएको नेपाली चियालाई भारतले दोष लगाउनु भनेको अघोषित रूपको नाकाबन्दी नै भएको पराजुलीको दाबी छ ।

सरकारलाई चिया निकासीको सहज व्यवस्था गर्न आग्रह गर्दै इलामका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । उद्योगीले बिहीबार जिल्ला प्रशासन कार्यालय इलाममा भेला भएर ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्रमा चिया निकासीको समस्या, त्यसबाट भएको आर्थिक क्षति, किसानको चिया नस्ट हुँदा किसानलाई परेको समस्यालगायतका विषय समेटिएको छ ।

चिया किसान र उद्योगीको ध्यानाकर्षण बुझ्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आफूले यसअघि पनि पटक पटक केन्द्रका मन्त्रालयमा जानकारी गराइसकेको र अब पनि आफू चियाका लागि गम्भीर रहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)