मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्यानडाको सानदार जितमा जोनाथन डेभिडले पूरा गरे ह्याट्रिक

lokaantar.com

फिफा विश्वकप २०२६ को समूह 'बी' अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा आयोजक क्यानडाले कतारमाथि ६-० को फराकिलो जित दर्ता गरेको छ ।

भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा क्यानडाका स्टार स्ट्राइकर जोनाथन डेभिडले ह्याट्रिक गरे।

सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको क्यानडाका लागि १६ औं मिनेटमा साइल लारिनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २९ औं मिनेटमा जोनाथन डेभिडले व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको ३३ औं मिनेटमा कतारका होमाम एल अमिनले सिधै रातो कार्ड खाँदै मैदान बाहिरिएपछि कतार १० खेलाडीमा सीमित भएको थियो । यसको फाइदा उठाउँदै पहिलो हाफको इन्जुरी समयमा डेभिडले अर्को गोल गरेर क्यानडालाई ३-० को स्थितिमा पुर्‍याए ।

दोस्रो हाफमा कतारको संकट झन् बढ्यो । ५३ औं मिनेटमा असिम माडिबोले पनि रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा झर्न पुग्यो । ६४ औं मिनेटमा नेथन सालिबाले क्यानडाका लागि चौथो गोल गरे भने ७५ औं मिनेटमा कतारका मोहम्मद मनाइले आत्मघाती गोल गर्न पुगे । खेलको अन्तिम समयमा जोनाथन डेभिडले आफ्नो ह्याट्रिक पूरा गर्दै क्यानडाको ६-० को विशाल जित सुनिश्चित गरे । यस विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेसीपछि ह्याट्रिक गर्ने डेभिड दोस्रो खेलाडी बनेका छन् ।

जितका बावजुद क्यानडाका लागि एउटा दुखद पक्ष रह्यो। टोलीका महत्त्वपूर्ण खेलाडी इस्माइल कोने गम्भीर घाइते भएर मैदानबाट बाहिरिएपछि क्यानेडियन क्याम्पमा चिन्ता छाएको छ । आफ्ना खेलाडीको गम्भीर चोट देखेपछि प्रशिक्षक जेसी मार्श निकै भावुक हुँदै मैदानमै रोएको दृश्यले दर्शकहरूलाई समेत स्तब्ध बनाएको थियो ।

यस सानदार जितसँगै क्यानडाले समूह 'बी' मा आफ्नो पकड बलियो बनाएको छ । क्यानडाले अब आफ्नो अन्तिम समूह खेलमा जुन २४ मा स्विजरल्याण्डको सामना गर्नेछ भने सोही दिन कतारले बोस्निया-हर्जगोभिनासँग खेल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय