मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी स्थानमा वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिमको तराईका भूभागमा तातो लहर चल्ने

setopati.com · Fri Jun 19 01:17:59 GMT 2026

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।

यसको प्रभावले शुक्रबार बिहान कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा ताप्लेजुङमा १७ मिलिमिटर वर्षा मापन भएको छ।

पछिल्लो चौबीस घन्टामा झापाको अनारमनी बिर्तामा २०८.८ मिलिमिटर वर्षा भएको महाशाखाको वेबसाइटमा उल्लेख छ।

त्यस्तै बाहुनडाँगीमा ८३.६ मिलिमिटर, इलामको माइपोखरीमा ६९.६ मिलिमिटर, पाँचथरको माझिटारमा ६७.२ मिलिमिटर, मोरङको लेटाङमा ६१.२ मिलिमिटर, सुनसरीको चतरामा ५१.४ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा पछिल्लो चौबीस घन्टामा हल्कादेखि मध्यम र भारी वर्षा भएको छ।

शुक्रबार दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय