मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सक्रिय राजनीतिबाट महराको सन्न्यास, पासपोर्ट प्रकरणमा तानिइन् आरजु देउवा

lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ बहुमतले पारित भएको छ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावको पक्षमा बहुमत सदस्य रहेपछि सभामुख अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

००००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयभित्र थुनेर जबर्जस्ती पक्राउ पुर्जी जारी गर्न लगाएको भन्दै सदनमा कुरा उठेको छ ।

विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका नरेन्द्र केरुङले प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै यस सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने बताए ।

'अख्तियार प्रमुखसहित पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयको कोठाभित्र थुनेर त्यहीँबाट पक्राउ पुर्जी जारी गर्न बाध्य बनाउने, अन्यथा त्यहीँ थुन्ने धम्की दिएको कुरा बाहिर आएको छ,' उनले भने, 'त्यो कुरा के हो ? त्यसको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्छ ।'

उनले प्रधानमन्त्रीले रोस्ट्रममा आएर सत्य–तथ्य जानकारी गराउनुपर्ने माग पनि गरे ।

००००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको छ ।

आयोगले खण्डहर बनेको बूढानीलकण्ठस्थित देउवा निवासमा तामेलीको सूचना टाँसेको छ । २०८२ भदौ २४ मा जेनजी आन्दोलनका क्रममा जलाइएको देउवा निवास अहिले भत्काउने काम भइरहेको छ । सोही भग्नावशेष बनेको घरको भित्तामा सूचना टाँसिएको छ ।

आरजुलाई बाटोको म्यादबाहेक तीनदिनभित्र आयोगमा उपस्थित हुन भनिएको छ । उक्त सूचना यही असार २ गतेको मितिमा टाँसिएको थियो ।

००००

भिजिट भिसामा खाडी मुलुक ओमान जान लागेका २७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

बुधबार राति प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

००००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा पार्टी राजनीतिको सक्रिय जिम्मेवारीबाट अलग भएका छन् ।

बिहीबार ६९ वर्ष पुगेका पूर्वसभामुख समेत रहेका महराले एक वक्तव्य जारी गर्दै स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा हुन् ।

महराले करिब ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न चरण, उतारचढाव, संघर्ष र परिवर्तनका यात्रामा निरन्तर सहभागी रहँदै आएको उल्लेख गर्दै अब स्वास्थ्य अवस्थाका कारण सक्रिय जिम्मेवारीमा रहन कठिन भएको बताएका छन् ।

००००

काठमाडौं महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/८४ का लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेको छ ।

महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रूपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रूपैयाँ अन्य बाह्य व्ययभार हुने गरी कूल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रूपैयाँको अनुमानित बजेट पेस भएको छ ।

००००

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ्दो गुनासोलाई नियन्त्रण गर्न १० बुँदे कार्ययोजना ल्याएको छ । मन्त्रालयले सातै प्रदेश र स्थानीय तहलाई कार्ययोजना कार्यान्वयन गर्न पत्राचार गरेको हो ।

००००

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले बिहीबार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग छलफल गरेको छ ।

छलफलका लागि संयोजक शाहसहितको कार्यदलको टोली पूर्वप्रधानमन्त्री भट्टराईको निवास पुगेको थियो ।

००००

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् ।

मन्त्री खनाललाई भेट्न बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको टोलीले नेपालमा उत्पादन भएको चिया भारत निर्यातमा देखिएको अवरोधलाई कूटनीतिक माध्यमबाट समाधान गर्नका लागि पहल गरिदिन उनलाई अनुरोध गरेको थियो । टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोग्नुपरेको समस्याबारे परराष्ट्रमन्त्री खनालको ध्यानाकर्षण गराएको थियो ।

००००

फिफा विश्वकप २०२६ को समूह 'ए' अन्तर्गत बिहीबार राति एट्लान्टा स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा चेक गणतन्त्र र दक्षिण अफ्रिकाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

दुवै टोलीले आफ्नो पहिलो खेल हारेकाले यो बराबरीले उनीहरूको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै राखे पनि यात्रा कठिन बनेको छ।

००००

फिफा विश्वकप २०२६ को समूह 'बी' अन्तर्गत गएराति सम्पन्न रोमाञ्चक खेलमा स्विजरल्याण्डले बोस्निया-हर्जगोभिनालाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

खेलको अन्तिम २० मिनेटमा भएको नाटकीय प्रदर्शन र वैकल्पिक खेलाडी जोहान मान्जाम्बीको दुई गोलको मद्दतले स्विजरल्याण्ड नकआउट चरण नजिक पुगेको छ ।

००००

फिफा विश्वकप २०२६ को समूह 'बी' अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा आयोजक क्यानडाले कतारमाथि ६-० को फराकिलो जित दर्ता गरेको छ ।

भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा क्यानडाका स्टार स्ट्राइकर जोनाथन डेभिडले ह्याट्रिक गरे।

००००

मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ अमेरिका र इरानबीच एक सम्झौता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटाएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपतिको निर्देशन अनुसार नाकाबन्दी अन्त्य भएको पुष्टि गर्दै केही अमेरिकी जहाजहरू भने अझै त्यस क्षेत्रमा रहने जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)