मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनद्वारा रुसमा भीषण आक्रमण, युद्धयताकै सबैभन्दा ठूलो रहेको दाबी

corporatenepal.com · Fri Jun 19 01:40:29 GMT 2026

काठमाडौं । युक्रेनले बिहीबार रुसको राजधानी मस्कोलाई लक्षित गर्दै युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको दाबी गरिएको छ। मस्को र आसपासका क्षेत्रमा करिब २०० ड्रोन प्रहार हुँदा विभिन्न स्थानमा आगलागी भएको तथा आकाश धुवाँले ढाकिएको दृश्य देखिएको छ ।

मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार आक्रमणका कारण कम्तीमा १७ जना घाइते भएका छन्। रुसको रक्षा मन्त्रालयले भने पछिल्लो २४ घण्टाभित्र देशभर झन्डै एक हजार युक्रेनी ड्रोन तथा चारवटा क्रुज मिसाइल खसालिएको जनाएको छ । दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको तेल भण्डारण केन्द्र पनि आक्रमणको निशानामा परेको छ। उक्त घटनामा एक व्यक्तिको ज्यान गएको बताइएको छ।

Advertisement

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्को क्षेत्रलाई पुनः लक्ष्य बनाइएको पुष्टि गर्दै रुसलाई कूटनीतिक माध्यमबाट युद्ध अन्त्यतर्फ अघि बढ्न आग्रह गरेका छन्। उनका अनुसार यो व्यापक ड्रोन अभियान गत साता किएभमा भएको आक्रमणको प्रत्युत्तर हो, जसमा एक महत्वपूर्ण धार्मिक स्थलमा आगलागी भएको थियो।

जेलेन्स्कीले युक्रेनले युद्ध नचाहेको दोहोर्याउँदै रुसले आक्रमण जारी राखे त्यसको असर मस्कोले पनि भोग्नुपर्ने चेतावनी दिएका छन् । यसैबीच, मस्कोको दक्षिणपूर्वी भागमा रहेको कपोट्नया तेल प्रशोधन केन्द्रमा समेत आगलागी भएको छ। एक महिनाभित्र तेस्रो र यस सातामै दोस्रोपटक उक्त रिफाइनरीमाथि आक्रमण भएको जनाइएको छ।

घटनापछि आकाशमा बाक्लो कालो धुवाँ फैलिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा शक्तिशाली विस्फोटका दृश्य देखिएका छन्, जहाँ तेल भण्डारण ट्याङ्कीका विशाल ढक्कनहरू हावामा उछिट्टिएको देख्न सकिन्छ।

एजेन्सी

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)