मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थ समितिमा राष्ट्र बैङ्कका गभर्नरसँग छलफल हुँदै

hamrakura.com · Fri Jun 19 00:00:00 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज (शुक्रबार) तीन वटा संसदीय समितिहरूको बैठक बस्दैछन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ८ बजेदेखि नै अर्थ समितिको बैठक सुरु भइसकेको छ। आजको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति कार्यान्वयनको प्रगति, बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो अधिक तरलता (लिक्विडिटी) व्यवस्थापनका लागि अपनाइएका नीति तथा कार्यक्रम र तिनको प्रभावकारिताका विषयमा छलफल गर्ने कार्यसूची छ।

साथै सरकारी स्वामित्वमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको पछिल्लो तीन वर्षको कार्यसम्पादन र बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत एवं कानुनी सुधारका विषयमा समेत समितिले गभर्नरसँग विस्तृत जानकारी लिनेछ।

यसैगरी प्रतिनिधि सभाकै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ९:१५ बजे सिंहदरबारमा बस्दैछ। उक्त बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफल गरी आवश्यक निर्णय लिइने कार्यसूची रहेको छ।

त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे बस्ने तय भएको छ। सो बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा वार्षिक कार्यक्रमका विषयमा मन्त्रालय र सरोकारवालाहरूसँग सघन छलफल गरिने संसद् सचिवालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)