मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाधिवेशन रास्वपा संस्थागत हुने अवसर

nagariknews.nagariknetwork.com · Fri Jun 19 02:33:58 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटका जिल्ला अध्यक्ष प्रदीप साह पहिलो महाधिवेशन पार्टीलाई संस्थागत बनाउने ऐतिहासिक अवसर भएको बताउँछन्। ‘पहिला दुईतीन पटक महाधिवेशनको मिति तोकियो, राष्ट्रिय भेलाबाट समेत तीन पटक निर्णय भयो। तर विभिन्न राजनीतिक र प्राविधिक कारणले महाधिवेशन हुन सकेन’, साहले भने, ‘विशेषगरी सभापति रवि लामिछानेमाथि अन्य दल र तत्कालीन सरकारले राजनीतिक प्रतिशोध साँधेकाले पनि त्यतिबेला महाधिवेशन हुन सकेन। अहिले अवस्था फेरिएको छ। महाधिवेशन हुँदैछ। यसलाई पार्टीलाई संस्थागत गर्ने अवसरका रुपमा लिनुपर्छ।’

साहका अनुसार यस पटक महाधिवेशन हुन्छ। सबै तयारी भइसकेको छ। निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै महाधिवेशन गरी आवश्यक प्रक्रिया पूरा गरिनेछ। ‘साउन १९ गतेभित्र महाधिवेशन सम्पन्न गरी आवश्यक विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने कानुनी बाध्यता छ। त्यसैले यस पटक महाधिवेशन सफल हुन्छ’, उनले स्पष्ट पारे।

उनले पार्टी वडा, नगर र जिल्ला तहका संगठनलाई सुदृढ गर्दै राष्ट्रिय महाधिवेशनको मुखमा आएको बताए। ‘पार्टीको लक्ष्य कम्तीमा ३० प्रतिशत स्थानीय संरचनाको अधिवेशन सम्पन्न गरी राष्ट्रिय महाधिवेशनमा जाने थियो। केही जिल्लामा विवाद र व्यवस्थापकीय चुनौतीका कारण अधिवेशन हुन नसकेको उनले स्वीकार गरे।

महाधिवेशनबाट पार्टीको भावी नीति तथा नेतृत्व चयन हुने भएकाले यसलाई महŒवपूर्ण अवसरका रूपमा लिनुपर्ने उनको बुझाइ छ। ‘रास्वपामा सक्षम र संस्थापक नेतृत्व छ। युवा पुस्ताको आकर्षण पनि पार्टीप्रति बढ्दो छ। बालेन्द्र शाह जस्ता युवाप्रति जनताको विश्वासले पनि नयाँ राजनीतिक संस्कृतिको आवश्यकता देखाएको छ’, उनले भने।

साहले महाधिवेशनपछि पार्टी थप संस्थागत, व्यवस्थित र प्रभावकारी हुने बताए। ‘अन्य स्थापित राजनीतिक दलहरूको जस्तै बलियो संगठनात्मक संरचना निर्माण गर्दै सक्षम नेतृत्वलाई अघि ल्याउने छौं। सबै पक्षलाई समेटेर सशक्त केन्द्रीय समिति गठन हुनेमा हामी विश्वस्त छौं’, उनले भने। महाधिवेशनले पार्टीलाई लोकतान्त्रिक र मजबुत बनाउने उनको विश्वास छ।

त्यस्तै महाधिवेशन प्रतिनिधि जनक भारतीले पार्टीमा कुनै गुटउपगुट नभएको र महाधिवेशन प्रजातान्त्रिक प्रक्रियाबाटै सफल हुने बताए। रास्वपामा रवि लामिछाने गुट, बालेन गुट, रन्जु दर्शनाको गुट छ भनेर बाहिर चलाइएको हल्लामा कुनै सत्यता नभएको बताए। पार्टी देशमा आमूल परिवर्तनको नारा बोकेर आएको हुनाले महाधिवेशनले पनि परिवर्तन आत्मसात् गर्ने ठोकुवा गरे। प्रदेश र स्थानीय तह निर्वाचनमा पनि जनमत रास्वपाको पक्षमा पार्न महाधिवेशनले ऊर्जा दिने उनको बुझाइ छ।

अर्का महाधिवेशन प्रतिनिधि उदयप्रसाद सापकोटा पार्टीलाई संस्थागत, लोकतान्त्रिक र दीर्घकालीन रूपमा सुदृढ बनाउन महाधिवेशन सहयोगी बन्ने बताए। त्यस्तै अर्का महाधिवेशन प्रतिनिधि सुरेन्द्रप्रसाद सापकोटाले पार्टीमा जसको नीति उसैको नेतृत्व महाधिवेशनको मुख्य माग रहेको बताए। केन्द्रीय नेतृत्व लोकतान्त्रिक प्रक्रियाबाट चयन गर्न पनि महाधिवेशन जरुरी भएको उनले बताए।

यसैबिच रास्वपा केन्द्रीय समिति १५१ सदस्यीय बनाउने निर्णय भएको छ। केन्द्रीय कार्यालयमा बिहीबार बसेको सचिवालय बैठकले विधान संशोधन गरी १५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो। पार्टी पदाधिकारीमा वरिष्ठ नेतासहित महिलाको सहभागिता सूनिश्चित गर्न विधान संशोधनको निर्णय सचिवालयले लिएको हो।

‘सचिवालय बैठकले विधान संशोधन गर्ने निर्णय लिएको छ’, बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘प्रदेश सभापतिलाई पदेन सदस्य राख्नेगरी १५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको छ।’ विधान संशोधनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय भएको उनले बताए।

रास्वपा केन्द्रीय समिति हाल १२१ सदस्यीय छ। सचिवालय बैठकले पदाधिकारी संख्या बढाएर १९ सदस्यीय बनाउने निर्णय गरेको छ। जसअनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित तीन उपसभापति, महामन्त्री दुई, एक महिलासहित पाँच सहमहामन्त्री, प्रवक्ता एक, एक महिलासहित तीन सहप्रवक्ता, कोषाध्यक्ष एक, एक महिलासहित दुई सहकोषाध्यक्ष रहनेछन्। रास्वपाको मौजुदा विधानमा पदाधिकारीमा महिला अनिर्वाय छैन। विधान संशोधन गरी उपसभापति, सहमहान्त्री, सहप्रवक्ता, सहकोषाध्यक्षमा एक जना महिलाको प्रतिनिधित्व अनिर्वाय गरिने भएको छ।

पार्टी समायोजन भएकाले पनि नेता तथा कार्यकर्ता मिलाउन विधान संशोधन गर्नुपर्ने अवस्था आएको महामन्त्री बुर्लाकोटीले बताए। रास्वपाले चुनावअघि बालेन्द्र शाहसँग एकता गरेको थियो। एकता सहमतिमा शाहलाई सभापतिपछि वरिष्ठ नेताको वरीयतामा राखिएको छ। अब विधानमा पनि वरिष्ठ नेताको व्यवस्था गरिने छ।

चितवनमा यही असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनमा २ हजार ५ सयदेखि ३ हजारसम्म प्रतिनिधि सहभागी हुने बुर्लाकोटीले बताए। महाधिवेशनमा हरेक जिल्लाबाट एक जना र प्रत्येक प्रदेशबाट तीन जना परिवेक्षक पनि सहभागी हुने छन्। सात प्रदेशमध्ये मधेस प्रदेशमा अधिवेशन भएको छैन। जिल्ला अधिवेशन नभएका जिल्लाका प्रतिनिधिको हकमा निर्णय हुन बाँकी रहेको उनले बताए।

महाधिवेशनमा नेतृत्व छनोटका लागि विद्युतीय माध्यमबाट निर्वाचन गरिने बुर्लाकोटीले बताए। महाधिवेशनअगावै विभिन्न पदमा दाबी गर्ने र आवश्यकताभन्दा बढी प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन प्रतिनिधिहरूलाई निर्देशन दिने निर्णय भएको जानकारी पनि उनले दिए। ‘पार्टीलाई सौहार्दपूर्ण रूपमा एकढिक्का राख्न सबैको योगदान महत्त्वपूर्ण हुने भएकाले निर्वाचन आचारसंहिताभित्र रहेर सबै सदस्यलाई प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ’, उनले भने।

महाधिवेशनमा अन्य दलका सभापति र अध्यक्षलाई निमन्त्रणासमेत गरिएको पार्टी प्रवक्ता मनिस झाले जानकारी दिए। ‘हाम्रो ऐतिहासिक प्रथम महाधिवेशनमा अन्य पार्टीका अध्यक्षलाई पनि निमन्त्रणा पठाएका छौं’, उनले भने, ‘विदेशी कूटनीतिक नियोगका प्रतिनिधि पनि महाधिवेशनमा पाहुनाका रुपमा आउनुहुन्छ।’

महाधिवेशनमा करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी पनि महामन्त्री बुर्लाकोटीले दिए। महाधिवेशन खर्चको मुख्य स्रोत प्रतिनिधिबाट उठाइने दर्ता शुल्क र पार्टी सदस्य तथा शुभेच्छुकबाट प्राप्त सहयोग हुने उनले बताए। रास्वापाले प्रत्येक महाधिवेशन प्रतिनिधिबाट पाँच हजार रुपैयाँ शुल्क उठाएको छ।

महाधिवेशनमा प्रतिनिधिले आवासको व्यवस्था आफैं गर्नुपर्नेछ। पार्टीले महाधिवेशन सम्पन्न गर्न १८ वटा उपसमिति बनाएर काम गरिरहेको छ। अहिले भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम भइरहेको छ। बन्द सत्रका लागि चितवन उद्योग संघको सभाहल प्रयोग गर्न उद्योग मन्त्रालयले अनुमति दिएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)