मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खरखरे भिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध, दर्जनौँ सवारीसाधन अलपत्र

kathmandupati.com · Fri Jun 19 02:59:41 GMT 2026

काठमाण्डु– पहिरोले लमजुङ–मनाङ जोड्ने सडक बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा शुक्रबार बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले भने,’पानी ठूलो परेकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने सम्भावना पनि रहन्छ । सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ ।’ सडक अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङमा जाने र सो जिल्लाबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौँ सवारीसाधन अलपत्र परेको उनको भनाइ छ ।

यस क्षेत्रमा वर्षैंपिच्छे पटकपटक पहिरो जाँदा सो स्थानमा यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रामा समस्या हुँदै आएको छ । पहिरो रोकथाम गर्न संघीय सरकारको १९ करोड ४८ लाखमा काम अघि बढे पनि निर्माणमा ढिलाइ हुँदा सो समस्या उत्पन्न भइरहेको हो ।

विसं २०८० मा सम्पन्न हुनुपर्ने पहिरो हालसम्म पनि सम्पन्न हुन नसक्दा पहिरो रोकथाम हुन सकेको छैन । त्यस्तै, बेँसीसहर घलेगाउँ सडकसमेत पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस सडकअन्तर्गत बेँसीसहर–६ पुमा भिरमा पहिरोले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)