किशोरीमा रक्तअल्पतामा सुधार
gorkhapatraonline.com · Fri Jun 19 03:14:55 GMT 2026

बर्दियाको राजापुर नगरपालिकामा किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) को समस्या एक वर्षको अवधिमा उल्लेखनीय रूपमा घटेको छ । गत वर्ष ८२ प्रतिशत किशोरीमा रक्तअल्पता देखिएकोमा यस वर्ष उक्त दर घटेर ६५ प्रतिशतमा झरेको छ ।
नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १० वर्षभन्दा माथिका दुई हजार १७५ किशोरीको रगत परीक्षण गर्दा एक हजार ४३३ जनामा रक्तअल्पता फेला परेको हो । तीमध्ये ७२ जनामा कडा, ३७६ जनामा मध्यम र ९८५ जनामा सामान्य प्रकारको रक्तअल्पता देखिएको छ । कुल परीक्षण गरिएकामध्ये ३.३ प्रतिशत किशोरीमा गम्भीर अवस्था रहेको पाइएको छ ।
गत वर्ष एक हजार ४४१ किशोरीको परीक्षण गर्दा एक हजार १७४ जनामा रक्तअल्पता देखिएको थियो । त्यसमध्ये १२३ जनामा कडा खालको रक्तअल्पता रहेको थियो भने छ जनालाई तत्काल अस्पताल भर्ना गरी रगत चढाउनु परेको थियो ।
राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशप्रसाद अर्यालले गत वर्षको तुलनामा यस वर्ष रक्तअल्पताको अवस्था सुधारिएको बताउनुभयो । उहाँका अनुसार कडा खालको रक्तअल्पता देखिएका किशोरीलाई थप परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थामा रेफर गरिएको छ । हेमोग्लोबिनको मात्रा आठ ग्राम प्रतिडेसिलिटरभन्दा कम भए कडा खालको रक्तअल्पता मानिने र आवश्यकता अनुसार रगत चढाउनुपर्ने अवस्था आउन सक्ने उहाँले जानकारी दिनुभयो ।
वरिष्ठ नर्सिङ निरीक्षक देवी खनालले विद्यालयमै शिक्षकको निगरानीमा नियमित आइरन चक्की खुवाइएका स्थानमा सुधारको दर उल्लेखनीय रहेको बताउनुभयो । घरमा लगेर खान दिइएको अवस्थामा भने अपेक्षाकृत कम सुधार देखिएको उहाँको भनाइ छ ।