स्टारलिंक जस्तै १,६५० स्याटलाइटसहितको लियो नेटवर्क स्थापना गर्ने योजनामा रिलायन्स जियो
techpana.com · Fri Jun 19 03:43:30 GMT 2026

काठमाडौं । भारतीय टेलिकम कम्पनी रिलायन्स जियोले आगामी २ देखि ३ वर्षभित्र ब्रोडब्यान्ड र डाइरेक्ट-टु-डिभाइस कनेक्टिभिटी सेवा प्रदान गर्न आफ्नै 'लो अर्थ अर्बिट' (LEO) स्याटलाइट नेटवर्क (constellation) निर्माण गर्ने योजना बनाएको छ । यस परियोजना अन्तर्गत पृथ्वीको सतहबाट करिब ६५० किलोमिटरको उचाइमा १,६०० देखि १,६५० वटा स्याटलाइट प्रक्षेपण गरिनेछ ।
यो खरबपति मुकेश अम्बानीको नेतृत्वमा रहेको टेलिकम कम्पनी हो । जियोले भारतीय राष्ट्रिय अन्तरिक्ष प्रवर्धन तथा प्राधिकरण केन्द्र (IN-SPACe) मा यस सम्बन्धी प्रस्ताव पेस गरिसकेको छ । हाल इन-स्पेसईले यस परियोजनाको कन्फिगरेसन र प्राविधिक आर्किटेक्चरको मूल्याङ्कन गरिरहेको छ ।
आकर्षक मानिएको लियो क्षेत्रमा प्रवेश गर्ने प्रयास कुनै भारतीय कम्पनीका लागि यो नै पहिलो पटक हो । हाल यो क्षेत्रमा एलन मस्कको स्टारलिंकको वर्चस्व छ । जसका अन्तरिक्षमा करिब १०,००० स्याटलाइट छन् । राष्ट्रिय सुरक्षाका चिन्ताहरूका कारण विदेशी स्याटलाइट प्रदायकहरूमाथिको निर्भरता कम गर्ने देशहरूको प्रयासका बीच जियोको यो कदमलाई निकै महत्त्वपूर्ण मानिएको छ ।
भारत सरकारले जियोलाई अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) मार्फत अर्बिटल स्लट सुरक्षित गर्न सहयोग गर्ने इकोनोमिक्स टाइम्सले जनाएको छ । सरकारले यो रणनीतिक क्षेत्रमा प्रवेश गर्न चाहने अन्य भारतीय संस्थाहरूलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
जियोले योजना बनाएको जस्तो स्याटलाइट नेटवर्क स्थापना गर्न १० देखि १५ अर्ब अमेरिकी डलर (करिब १५ खर्बदेखि २२ खर्ब ५० अर्ब रुपैयाँ) लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । यसबाट प्रयोग गरिने स्याटलाइटको आधारमा केही टेराबिट्स क्षमता सिर्जना हुनसक्ने अनुमान गरिएको छ ।
स्याटकम नामक यो परियोजना जियोको जियो प्लेटफर्म्स अन्तर्गत रहनेछ । जियो प्लेटफर्म्सले आउँदा दिनहरूमा आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने योजना पनि बनाइरहेको छ ।
हाल जेफ बेजोसको अमेजन लियो करिब ३,२०० स्याटलाइट राख्ने प्रक्रियामा छ । जसमध्ये ३०० भन्दा बढी पहिले नै पृथ्वीको कक्षमा पुगिसकेका छन् । त्यसैगरी, सुनिल मित्तलको भारती समूह दोस्रो ठुलो शेयरधनी रहेको युटेलस्याट वनवेब (Eutelsat OneWeb) का ६५४ स्याटलाइट पनि अन्तरिक्षमा छन् । लक्जमबर्गस्थित एसईसीसँग जियोको पहिले देखिनै एक संयुक्त उद्यम छ । जसका स्याटलाइट जियोस्टेसनरी र मिडियम अर्थ अर्बिटमा छन् । तर लियोमा भने छैनन् ।
अमेरिका लगायतका देशहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नवीनतम प्रविधिहरूमा लगाएको प्रतिबन्ध र विदेशी स्याटकम कम्पनीहरूमाथिको बढ्दो सुरक्षा निगरानीका बीच जियोको यो प्रयासलाई महत्त्वपूर्ण मानिएको छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८३ ९:२८
टिप्पणीहरू
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)