पूर्ण स्तनपानमा कर्णाली अगाडि
gorkhapatraonline.com · Fri Jun 19 03:59:28 GMT 2026

स्वास्थ्य सर्वेक्षण अनुसार शिशु जन्मदेखि पूरा अवधिसम्म पूर्ण स्तनपान गराउनेमा कर्णाली प्रदेश अगाडि देखिएको छ । कर्णाली प्रदेशमा पूर्ण अर्थात् छ महिनासम्म स्तनपात गराउनेको सङ्ख्या ७४ प्रतिशत रहेको छ ।
कर्णालीसँगै सुदूरपश्चिम प्रदेशमा पनि ७४ प्रतिशत रहेको छ भने अन्य प्रदेशमा कम रहेको छ । स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका पोषणविज्ञ लीलाविक्रम थापाले सर्वेक्षणका क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशमा ७४ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेको पाइएको बताउनुभयो ।
सबैभन्दा कम लुम्बिनी प्रदेशमा ३६, बागमतीमा ४३, कोशीमा ५३, गण्डकीमा ६४ र मधेशमा ६५ प्रतिशत रहेको छ । उहाँका अनुसार शिशुको वृत्तिविकासका लागि छ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्नेमा अन्य प्रदेशको तुलनामा कर्णाली र सुदूरपश्चिमको अवस्था राम्रो देखिएको छ ।
यस्तै दुधदानीबाट दुध खुवाउनेमा सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ । सबैभन्दा धेरै दुधदानीबाट दुध खुवाउनेमा बागमती प्रदेश रहेको छ, यहाँ ४३ प्रतिशत छ । त्यसपछि गण्डकीमा २७, कोशीमा २५, लुम्बिनीमा २४, सुदूरपश्चिममा १५ र मधेशमा २२ प्रतिशत रहेको छ । उहाँले नेपालभर करिब १२ प्रतिशतले शिशुलाई दुधदानीबाट दुध खुवाउने गरेको पाइएको बताउनुहुन्छ ।
धेरैजसो सम्पन्न, उच्च वर्ग, शिक्षित महिलाले नै दुधदानीबाट दुध खुवाउने गरेका छन् । ४९ प्रतिशत उच्च शिक्षा पढेका महिलाले दुधदानीबाट शिशुलाई दुध खुवाउने गरेका छन् भने शिक्षा प्राप्त नगरेका महिला १२ प्रतिशतले मात्रै दुधदानीबाट दुध खुवाउने गरेका छन् ।
शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउन सुरु गर्नुपर्ने, पूरा छ महिनासम्म शिशुलाई आमाको दुध मात्रै खुवाउनुपर्ने, छ महिनाभन्दा माथि भएमा स्तनपानसँगै पौष्टिक आहार दिई कम्तीमा दुई वर्षसम्म स्तनपान गर्नुपर्ने हुन्छ तर आधुनिक सोच र मान्यताले गर्दा शिशुलाई पूर्ण स्तनपान नगराउने, बट्टाको दुध खुवाउने चलन बढ्दै गएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)