‘लोक-दोहोरी क्षेत्रमा फोहोरीहरूको प्रवेश भयो, मौलिकपन हराउँदै गयो’
ratopati.com · Fri Jun 19 04:15:00 GMT 2026

काठमाडौं । लोक-दोहोरी गायक, सञ्चारकर्मी तथा लेखक रामप्रसाद खनाल दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । टेलिभिजन कार्यक्रम ‘लोक दोहोरी’ मार्फत नेपाली लोक-दोहोरी गीतलाई पुनर्जीवित गर्न उनले भूमिका खेले ।
उनले आफैं पनि १५ वटा जति गीत रेकर्ड गरेका छन् । पछिल्लो समयम उनी फिल्म अभिनयमा पनि सक्रिय देखिन्छन् । लोक-संगीतमा भित्रिएको ‘छाडा’ प्रवृत्तिविरुद्ध उनी डटेरै लडिरहेका छन् । मौलिक संगीतमा यस्ता विकृति भित्र्याउनेप्रति राज्य निर्मम ढंगले प्रस्तुत हुनुपर्ने उनको मान्यता छ ।
रातोपाटीको ‘स्टार एन्ड स्टोरिज’मा अन्तर्वार्ताका क्रममा उनले आफ्नो सांगीतिक करिअर, लोक-दोहोरी क्षेत्रमा देखिएको विकृतिदेखि अमेरिकामा नेपाली कलाकारको जीवनसम्मका विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) :
केही दिनअघि सामाजिक सञ्जालमा नेपाल बसाइ लम्बियो, नसोचेका कामहरू पनि गर्नुपर्यो भन्नुभएको थियो । त्यस्तो के गर्नुपर्यो नसोचेको काम ?
म नेपाल आएको अहिले करिब ६ हप्ता बढी भयो । यसबीच गीत–सङ्गीत रेकर्ड गर्ने क्रममा चारवटा फिल्मका अफर आयो । अशोक शर्माजीको ‘डबल ट्रिपल’, ‘छ माया छपक्कै’ को छायाङ्कन सकाए भने ‘सिन्दुरे जात्रा’ छायाङ्कनकै क्रममा छ ।
यी बाहेक ‘चिरञ्जीवी भवः’मा पनि काम गर्ने तयारीमा छु । एउटा भजन पनि ल्याउने तरखरमा छु ।
यो उमेरमा आएर फिल्ममा अभिनय गर्ने रहर जाग्यो, होइन ?
म नेपालमै रहँदा पनि फिल्ममा अभिनयका लागि धेरै प्रस्ताव आउँथ्यो । त्यो बेला म व्यस्त थिएँ । एकातिर पत्रकारिता, अर्कोतिर गीत–सङ्गीत । विशेषगरी नेपाल टेलिभिजनमा बढी व्यस्त भएकाले समय निकाल्नै सकिनँ ।
पछिल्लो समय मैले देश–विदेशका धेरै देश घुमेँ । एउटा कलाकारको रूपमा देश–विदेश चहार्दा मलाई के महसुस भयो भने मैले जतिसुकै गीत लेखूँ, गाऊँ, पत्रकारिता वा टेलिभिजनमा काम गरूँ, नेपाली दर्शकको मानसपटलमा एउटा कुरा के बस्दो रहेछ भने कलाकार भएर फिल्म कुन–कुन खेल्यो ? त्यसले गर्दा मैले फिल्म खेल्न थालेको हो ।
लामो समयदेखि लोक सङ्गीतको जगेर्नामा लाग्नुभएको छ । अहिलेका लोक-दोहोरी गीतप्रति कति सन्तुष्ट हुनुहुन्छ ?
म यसप्रति पूर्णरूपमा सन्तुष्ट हुन सकेको छैन । हिजो मात्र सांस्कृतिक संस्थानमा राष्ट्रव्यापी दोहोरी गीत प्रतियोगितामा मलाई बोलाइएको थियो, त्यहाँ पनि मैले यही विषय उठाएको थिएँ । पहिले हामीले अनुशासन, मर्यादा र सीमाभित्र रहेर कला प्रस्तुत गर्थ्यौँ । सेल्फ–सेन्सरसिपमा हामी विश्वास गर्थ्यौँ । मैले दुःखका साथ भन्नुपर्छ, लोकगीत र दोहोरी गीतको क्षेत्रमा अहिले फोहोरीहरूको प्रवेश भएको छ । गीत पनि फोहोरी भयो । हाम्रो मौलिकपन हरायो । अहिले त छाडा गाउने र नाङ्गो नाच्ने हिट ।
यस्ता विकृति रोक्न राज्य र मेला-महोत्सव आयोजकको भूमिका कस्तो हुनुपर्छ ?
यसमा आयोजकको भूमिका सबैभन्दा पहिलो र महत्त्वपूर्ण हुन्छ । कतिपय मेला-महोत्सवका मञ्चहरूमा छाडा र नग्नता प्रदर्शन गर्नेहरूलाई नै प्राथमिकता दिइन्छ ।
यस्ता हर्कत रोक्न आयोजक र राज्य दुवै निर्मम हुनुपर्छ म यो आधिकारिक निकायमा हुन्थेँ र मेरो चल्थ्यो भने त त्यो मञ्चमा गएर जसले छाडा प्रस्तुति दिएको छ त्यसको कठालो समातेर खोरभित्र खोच्थेँ । छाडा प्रस्तुति पनि एक प्रकारको अपराध हो ।
विदेशमा लामो समय बस्दा नेपालको कुन कुराले सबैभन्दा बढी सताउँछ ?
नेपालको माटो र यसको सुगन्ध । विदेशमा सबैथोक भएर पनि जुन आत्मिक खुसी मिल्दैन, त्यो नेपालको माटोमा पाइन्छ । त्यहाँ के छैन ? त्यहाँ सुख सुविधा छ, घर, गाडी, दुनियाँदारी, काम गरेपछि पैसाको केही कमी हुँदैन । तर सबै चीज भएर पनि खुसी भन्ने चीज पाउन म देश सम्झिन्छु, यही माटो सम्झिन्छु ।
भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)