मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतीय बाँधले निम्त्याउँदै बाढीको त्रास

annapurnapost.com · Fri Jun 19 04:21:09 GMT 2026

रौतहट : नेपाल–भारत सीमामा भारतीय पक्षले एकलौटी रूपमा बाँध अग्लो बनाएको छ। रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बहानामा झन् अग्लो र बलियो बनाएपछि सदरमुकाम गौरसहित दर्जनौं गाउँ बाढीको त्रासमा बस्न बाध्य हुनु परेको छ।

सीमा क्षेत्रको दसगजा वा त्यसको नजिकमा दुवै देशको सहमतिअनुसार कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले एकतर्फी रूपमा बाँध मर्मतको बहानामा झन् अग्लो र बलियो बनाएको छ। भारतले आफ्नो क्षेत्रलाई जोगाउन अन्तर्राष्ट्रिय नियमविपरीत सीमा सडकसँगै जोडिने गरी अग्लो बाँध बनाएको हो। बैरगनिया क्षेत्रको बाँधकै कारण वर्षायाममा बागमती र लालबकैया नदीको पानीको बाढीको बहाव थुनिने र त्यसले सदरमुकाम गौरसहित दर्जनौं नेपाली गाउँहरू डुबानमा पर्दै आइरहेको स्थानीय दीपक श्रीवास्तबले बताए।

‘भारतले बैरगनियालगायतका बिहारको सहर डुबानबाट बचाउन सीमा क्षेत्रमा १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँध बनाएपछि नेपालतिर हरेक वर्ष डुबान हुने गरेको थियो, श्रीवास्तवले भने, ‘अहिले त झनै बाँध अग्लो बनाइएको छ, यो वर्ष नेपाली गाउँमा ठूलो क्षति हुने त्रासले सताउन थालेको छ।’

नेपालमा जम्मा भएको पानीको निकास भनेकै बाँध र गेट भएकाले भारतीय पक्षले बैरगनियाको पूर्वी क्षेत्रस्थित बाँधको तीनवटा ढोका सुलिसगेट बन्द गर्दै आएका कारण हरेक वर्ष गौरलगायत ईशनाथ नगर क्षेत्र डुबानमा पर्दै आइरहेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोली हतियारसहित चौबिसैघण्टा बाँधमा बसेर निगरानी गर्ने गरेको गौर नगरपालिकाका स्थानीय सन्तोष पौडेलले बताए।

बाँध अग्लो हुँदा नेपालतर्फबाट बग्ने लालबकैया र बागमती नदीको पानीले निकास नपाउने र पानी ‘ब्याक’ भएर नेपाली बस्तीमा पस्ने गरेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले बताए। बकैया र बागमती नदीको प्राकृतिक बहावलाई यो बाँधले रोक्ने काम गर्छ भने बाँधमुनि रहेका सुलिसगेट (पानी निकास हुने ढोका) वर्षायाममा भारतीय पक्षले बन्द गरिदिँदा गौर नगरपालिकाका सबै वडा, ईशनाथ र राजदेवी नगरपालिकाका बस्तीहरू जलमग्न हुने गरेको श्रेष्ठले बताए।

बैरगनिया क्षेत्रको रिङ बाँधमा माटो थपिँदा वर्षायाममा बाढीको बहाव रोकिने र यसले सदरमुकाम गौर र आसपासका क्षेत्रहरू पूर्ण रूपमा डुबानमा पर्ने गरेको श्रेष्ठले बताए। बाढीको पानीको निकास नहुँदा हरेक वर्षामा ठूलो धनजनको क्षति हुँदै आइरहेको छ।

केही वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको पालामा यसरी नै माटो थप्न लाग्दा नेपालका तर्फबाट स्थानीय प्रशासन र सुरक्षा निकाय (सशस्त्र प्रहरी)ले कडा आपत्ति जनाएपछि काम रोकिएको भए पनि भारतीय पक्षले पुनः बाँध मर्मतको नाममा बाँध अग्लो बनाएको छ।

भारतको बिहारस्थित बैरगनिया क्षेत्रमा रहेको सीमा बाँध मर्मतको नाममा थप अग्लो र बलियो बनाइएको भन्दै रौतहटका स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बाँधका कारण बागमती र लालबकैया नदीको प्राकृतिक बहाव अवरुद्घ हुने तथा सुलिसगेट बन्द गरिँदा गौर, ईशनाथ र राजदेवी नगरपालिकाका बस्तीहरू हरेक वर्ष डुबानमा पर्ने गरेका छन्।

नेपाल–भारत दुई देशबीचको सहमतिअनुसार सीमारेखाको निश्चित दूरीभित्र एकतर्फी रूपमा बाँध वा सडकजस्ता अग्ला संरचना बनाउन निषेध गरिएको गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले बताए। तर भारतले आफ्नो भूमि डुबानबाट जोगाउन लगाएको बाँध मर्मतको बाहनामा माटो थपेको र चौडाइ पनि बढाइरहेको पूर्व आरोप नगरप्रमुख गुप्ताले लगाए। नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधमुनिको सुलिसगेट (पानी निकास हुने ढोका) बन्द गरेपछि गौरवासी झन् समस्यामा पर्दै आइरहेको उनले बताए।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षी सितामाढी जिल्लाका प्रमुख (डीएम) रुचि पाण्डेसँग बाँधमा माटो थप्ने काम भएको भन्दै ध्यानाकार्षण गराइसकेको बताए। डीएम पाण्डेले आफूलाई भारतीय केन्द्रीय सरकारबाटै बाँध मर्मतको काम भएको जानकारी गराएको प्रजिअ भुसालले बताए।दुई देशको सीमा र अन्तर्राष्ट्रिय सन्धिसँग जोडिएको विषय भएकाले केन्द्र सरकारले कूटनीतिक नोट पठाएर यसको स्थायी समाधान खोज्न आवश्यक रहेको भन्दै विगतका मधेस प्रदेशका मुख्यमन्त्रीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

भारतले एकपक्षीय रूपमा बाँध बाँधेपछि रौतहटको राजदेवी नगरपालिकाको बेलबिछुवा, ब्रम्हपुरी लक्ष्मीपुर, सदरमुकम गौरका नौवटै वडा र ईशनाथ नगरपालिकाको बैरिया, औरैया र बन्जरहा गाउँ बर्सेनि डुबानमा पर्दै आएको छ। सो क्षेत्रमा हरेक वर्ष डुबानका कारण करोडौंको धनजन तथा बालीनालीको क्षति हुँदै आइरहेको भए पनि सीमामा बस्ने नेपालीले सधैं सास्ती र त्रासमा बाँच्नु परिरहेको छ।

सुक्खा मौसममा नेपाली क्षेत्रका नदीको तटबन्धको अवलोकन तथा क्षतिग्रस्त ठाउँको मर्मत नगरी बाढीको समयमा कटान नियन्त्रण गर्ने गरेकोले समस्या हुँदै आइरहेको स्थानीय रमेश सिंहले बताए। स्थानीय सरकारले पनि बाढी बस्तीमा पसेर क्षती भएपछि मात्र उपाय सोच्ने, राहतस्वरूप चामल, चिउरा र दाल बाँड्नेबाहेक दीर्घकालीन समस्या समाधानको उपाय नखोज्दा बर्सेनि रौतहटवासी बाढीको चपेटामा पर्नुपर्ने बाध्यता रहेको गौर नगरपालिकाका मेयर प्रत्याशी मोहन यादवले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिले पनि ठोस कदम नचाल्दा बर्सेनि रौतहट डुबानमा पर्दा जनधनको क्षति भइरहेको उनले बताए। यसपटक डुबान र बाढीबाट नागरिकलाई जोगाउन सरकारले पूर्वतयारीका काम अघि बढाएको बताए पनि त्यो प्रभावहीन बनेको सिंहले आरोप लगाए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)