मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक सातामा जापानले नागढुंगा सुरूङ मार्ग हस्तान्तरण गर्दै, सञ्चालनका लागि फिल्डमा चिनियाँ टोली

corporatenepal.com · Tue May 26 09:00:14 GMT 2026

काठमाडौं । निर्माणको काम सकिएपछि जापानीज निर्माण हाज्मा एन्डो कर्पोरेशनले ‘सिस्नेखोला–नागढुंगा’ सुरुङ मार्ग नेपाललाई हस्तान्तरण गर्ने भएको छ । अबको एक सातामा कम्पनीले सडक विभागलाई परियोजना हस्तान्तरण गर्नेछ । हाल त्यसको तयारी भइरहेको परियोजनाका एक उच्च अधिकारीले बताए ।

सुरुङ मार्ग सम्बन्धी निर्माण कार्य सकिएको छ । त्यसमा अहिले निर्माण कम्पनीले ‘भेरीफाई’ को काम गरिरहेको छ । यसैगरी हस्तान्तरणका लागि परामर्शदाता कम्पनी, निर्माण कम्पनी र सडक बिभागले कागजात जुटाउने काम गरिरहेका छन् । यी प्रक्रिया पूरा गरेर एक सातामा जापानीज निर्माण कम्पनीले सरकारलाई परियोजना हस्तान्तरण गर्नेछ ।

Advertisement

पश्चिम खण्डमा पहिरो नियन्त्रणको आंशिक काम भने बाँकी छ । त्यो काम भने जापानीज निर्माण कम्पनीले समानान्तर रुपमा अघि बढाउनेछ ।

सडक विभागले यो आयोजना बनाउन २०१९ सेप्टेम्बरमा हाज्मा एन्डो कर्पोरेशनसँग ठेक्का सम्झौता गरेको थियो । सुरुमा ४२ महिनामा परियोजना बनाउने भनिए पनि चार पटक म्याद थप गरेर गत वैशाख १२ गतेसम्मको म्याद दिइएको थियो । त्यो म्याद सकिएको छ ।

साथै, निर्माणको काम पनि सकिएपछि हस्तान्तरणको काम गर्न लागिएको हो । कम्पनीले २०७७ पुस पहिलो साताबाट सुरुङमार्ग खन्न सुरु गरेको थियो । त्यसको साढे पाँच बर्षमा सुरुङ मार्ग सञ्चालनमा आउँदैछ ।

परियोजना अन्तर्गत मुख्यत रेस्क्यु र मुख्य गरेर दुई सुरुङ मार्ग छन् । त्यसमा दुई हजार ५५७ मिटर लामो रेस्क्यु टनेल २०८० साउन २२ गते र दुई हजार ६८८ मिटर लामो मुख्य टनेल २०८१ बैशाख ३ गते ब्रेक थ्रु भएको थियो ।

परियोजनामा जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को ऋण सहयोग रहेको छ । नेपाल सरकारको समेत लगानी जोड्दा झण्डै २८ अर्ब लागतमा यसको निर्माण भएको छ ।

सुरुङ मार्ग सञ्चालनका लागि चिनियाँ टोली फिल्डमा

यता, सुरुङ मार्ग सञ्चालनका लागि चिनियाँ टोली पनि फिल्डमा उत्रिसकेको छ । नेपालमा सञ्चालनमा आउन लागेको यो नै पहिलो आधुनिक सुरुङ मार्ग हो ।

नेपालसँग सुरुङ मार्ग सञ्चालन गरेको अनुभव नभएका कारण पहिलो पाँच बर्षका लागि अन्तर्राष्ट्रिय सर्भिस प्रोभाइडर छनोट गरिएको छ । यस सम्बन्धी ठेक्का चिनियाँ संलग्न ज्वाइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटीले पाएको छ ।

एक अर्ब १० करोड ४० लाख ३७ हजारमा काम गर्ने गरि गत वैशाखमा यसको ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएसँगै उक्त कम्पनीको टोली अहिले फिल्डमा उत्रिसकेको छ ।

‘सुरुङ मार्ग सञ्चालनका लागि ठेक्का प्राप्त कम्पनीका चिनियाँ प्राविधिक फिल्डमा आइसकेका छन् । उनीहरुले सुरुङ मार्गको निरीक्षण गरिरहेको छन्,’ परियोजनाका एक कर्मचारीले भने, ‘जापानीज कम्पनीले हस्तान्तरण गरेपछि उनीहरुले सुरुङ मार्ग सञ्चालनको थप प्रक्रिया अघि बढाउने छन् ।’

सुरुङ मार्ग साउनदेखि व्यावसायिक रुपमा सञ्चालन ल्याउने योजना छन् । सुरुङ मार्ग प्रयोग गर्न सवारी साधनले तोकिएको शुल्क तिर्नुपर्छ । सुरुङ मार्ग हुँदै काठमाडौँ प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले ६५ रूपियाँ तिर्नुपर्नेछ भने बाहिरिँदा ६० रूपियाँ लाग्नेछ ।

त्यस्तै, मिनीबस तथा मिनी ट्रक–टिपरका लागि प्रवेश गर्दा ११५ रूपियाँ र बाहिरिँदा ८० रूपियाँ शुल्क तोकिएको छ । ठूला बस तथा सिङ्गल रियर एक्सल ट्रकहरूका लागि प्रवेश शुल्क २६० रूपियाँ र बाहिरिँदा २०० रूपियाँ निर्धारण गरिएको छ । मल्टी एक्सल ट्रक तथा भारी उपकरणका हकमा भने प्रवेश गर्दा ६०० रूपियाँ र बाहिरिँदा २५० रूपियाँ शुल्क लाग्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय