मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल एक्लियो, सबै समस्या सैन्य कारबाहीबाट समाधान हुँदैन : अमेरिकी उपराष्ट्रपति भान्स

aarthiknews.com

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग भएको शान्ति सम्झौताको विरोध गरिरहेका इजरायली नेताहरूमाथि कडा टिप्पणी गरेका छन्। उनले वर्तमान परिस्थितिमा इजरायल अन्तर्राष्ट्रिय रूपमा एक्लिँदै गएको संकेत गर्दै सबै समस्याको समाधान सैन्य कारबाहीबाट सम्भव नहुने बताएका छन्।

पत्रकारहरूसँगको कुराकानीमा भान्सले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू नेतृत्वको सरकारका केही मन्त्रीहरूले अमेरिका–इरान सम्झौतामाथि उठाएका प्रश्नप्रति असन्तुष्टि व्यक्त गरे। उनले यदि आफू नेतन्याहू सरकारको सदस्य भएको भए इजरायलको सबैभन्दा शक्तिशाली सहयोगी अमेरिकामाथि सार्वजनिक रूपमा प्रश्न नउठाउने बताए।

भान्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बचाउ गर्दै भने, “अहिले विश्वमा इजरायलप्रति सबैभन्दा बढी सहानुभूति राख्ने नेता डोनाल्ड ट्रम्प नै हुन्।”

उनले इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्विर र वित्त मन्त्री बेजालेल स्मोट्रिचको आलोचना गर्दै केवल सैन्य शक्तिको प्रयोगबाट सबै चुनौती समाधान गर्न नसकिने बताए।

“तपाईंहरूको अर्को विकल्प के हो रु इजरायल केवल ९० लाख जनसंख्या भएको देश हो। हरेक समस्याको समाधान मानिसहरूलाई मारेर निकाल्न सकिँदैन,” भान्सले भने।

अमेरिका–इरान शान्ति सम्झौता लागू

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौतामा बुधबार फ्रान्सको भर्साय दरबारमा हस्ताक्षर भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेश्कियानले सम्झौतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि दुवै देशका प्रतिनिधिहरूबीच शुक्रबार स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा पहिलो औपचारिक वार्ता हुने तय भएको छ। वार्तामा युद्धविराम कार्यान्वयन, क्षेत्रीय सुरक्षा र आणविक कार्यक्रमलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

लेबनानबाट नहट्ने इजरायलको संकेत

यसैबीच इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी लेबनानमा आफ्नो सैन्य उपस्थितिलाई निरन्तरता दिने जनाएको छ। सेनाले सार्वजनिक गरेको नयाँ तैनाथी नक्सामा तत्काल सैनिक फिर्ता नहुने स्पष्ट पारिएको छ।

शान्ति सम्झौता लागू भइसकेपछि पनि इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण जारी राखेको छ। पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

होर्मुज क्षेत्रमा बढ्यो जहाज आवागमन

अमेरिका–इरान सम्झौतापछि विश्वको महत्वपूर्ण तेल मार्ग मानिने होर्मुज जलडमरूमध्यमा जहाजहरूको आवागमन तीव्र बनेको छ। साउदी अरेबियाको झण्डा बोकेका तीन ठूला तेल ट्यांकर उक्त मार्ग पार गरिसकेका छन्।

विश्लेषकहरूका अनुसार अमेरिका–इरानबीचको तनाव कम भएसँगै मध्यपूर्वको ऊर्जा आपूर्ति प्रणालीमा सकारात्मक प्रभाव देखिन थालेको छ। यद्यपि इजरायल, लेबनान र क्षेत्रीय सुरक्षासम्बन्धी चुनौतीहरू अझै कायम रहेकाले दीर्घकालीन स्थायित्वबारे प्रश्नहरू भने यथावत् छन्।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय