‘फोहोर व्यवस्थापन आयोजना दुरवस्थामा, भ्रष्टाचारको आशंका’: सांसद ओली
kalakarmi.com · Tue May 26 09:14:07 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराएकी छिन् ।
मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले करोडौंको लगानीमा निर्माण गरिएको उक्त परियोजना अहिले कबाडीखानामा परिणत भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिन् ।
सांसद ओलीका अनुसार कनकाई नगरपालिका-२ मा ‘कनकाई वीरता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर महिला व्यवस्थापन कम्पनी लिमिटेड’ को नाममा उक्त प्रोजेक्ट निर्माण गरिएको थियो ।
तिनै वटा नगरपालिकाको आर्थिक सहभागिता, वल्र्ड बैंक र वैकल्पिक ऊर्जाको सहयोगमा ७४५ जना उपभोक्ताले समेत लगानी गरेको सो आयोजनामा २१ करोड भन्दा बढी लगानी भइसकेको छ ।
यद्यपि, सो परियोजनाले दिनको ४०० रूपैयाँ बराबरको बायोग्यास समेत उत्पादन गर्न नसकेको उनले दाबी गरिन्। ‘व्यापक रूपमा भ्रष्टाचार भएको छ, परियोजनाका मेशिनरी र सामानहरू चोरी भएका छन्,’ उनले भनिन् ।
सांसद ओलीले सानका खोलाको छेउमा फिजिबिलिटी स्टडी (सम्भाव्यता अध्ययन) नै नगरी यो परियोजना बनाइएको आरोप लगाएकी छिन् । अध्ययनबिना नै निर्माण गरिएको उक्त परियोजनाको वर्तमान दुरवस्थाले ठूलो अनियमितता भएको पुष्टि हुने उनको तर्क छ ।
सांसद ओलीले तत्काल यस घटनामा सरकारको ध्यानाकर्षण गराउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत यस विषयमा गम्भीर छानबिन गर्न आग्रह गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)