एसिसी महिला प्रिमियर कप २०२४ : सीताको ह्याट्रिकसँगै नेपाल सेमिफाइनलमा
nayapatrikadaily.com · Thu Feb 15 00:32:00 GMT 2024
सीता रानामगरको ह्याट्रिकको सहयोगमा नेपालले बुधबार एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ । नेपालले अब शुक्रबार आयोजक मलेसियाको सामना गर्नेछ । प्रतियोगिताको बुधबार मलेसियाको बांगीमा भएको क्वार्टरफाइनलमा कुवेतलाई आठ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो । वर्षाका कारण प्रभावित खेलमा कुवेतले पहिलो ब्याटिङ गरी २० ओभरमा नौ विकेट गुमाएर ७३ रनको झिनो योगफल खडा गर्यो । नेपालले लक्ष्य पछ्याउँदा वर्षाले खेल प्रभावित पारेको थियो ।
त्यसपछि डकवर्थ लेविस नियमअनुसार नेपालले नयाँ लक्ष्यका रूपमा १२ ओभरमा ५० रन पायो । नेपालले ६.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । म्यान अफ दी म्याच सीताले बलिङतर्फ ह्याट्रिक र ब्याटिङमा १७ रनको योगदान दिइन् । यसैगरी कप्तान इन्दु बर्माले २१ बलमा २२ रन बनाइन् । नेपाललाई सेमिफाइनल पुर्याउन महत्वपूर्ण योगदान गरेकी अलराउन्डर सीताले म्यान अफ दी म्याचको अवार्ड श्रीमान्लाई समर्पण गरेकी छिन् । कुवेतविरुद्ध ह्याट्रिक लिएपछि उनले भनिन्, ‘आजको यो अवार्ड मेरो श्रीमान्लाई समर्पण गर्न चाहन्छु । साथसाथै ह्याप्पी भ्यालेन्टाइन डे पनि भन्न चाहन्छु ।’ सीता र पूर्वबक्सिङ खेलाडी दिलीप लामाको विवाह चार वर्षअघि भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)