बालबालिका भन्छन्ः ‘लागुऔषध र बालविवाह न्यूनीकरण गरिदिनुस्’
nagariknews.nagariknetwork.com · Fri Jun 19 04:58:11 GMT 2026

टीकापुरका बालबालिकाले स्थानीय तहका जनप्रतिनिधिसँग लागुऔषध सेवन तथा ओसारपसार र बालविवाह न्यूनीकरणमा प्रभावकारी काम गरिदिन माग गरेका छन्।
‘जनप्रतिनिधिसँग बालबालिका संवाद’ कार्यक्रममा सहभागी बालबालिकाले टीकापुर भारतीय सीमासँग जोडिएको पालिका भएकाले यहाँ लागुऔषधमा बालबालिका फस्दै गएकाले यसमा कडाइ गर्नेगरी काम गरिदिन माग गरेका हुन्।
टीकापुर नगरपालिका–८ का बालक पृतमबहादुर टमट्टाले लागुऔषधको सेवनमा आफ्ना साथीहरू फसिरहेकाले यसलाई न्यूनीकरण गर्नेगरी प्रभावकारी पहलको माग गरे। उनले भने, ‘सीमा नजिक भएकाले वारिपारि गर्न खासै समस्या छैन, कतिपय साथीहरू भारत जाने उतै खाएर आउने गरेका छन्। स्थानीय पालिकाले बालबालिका व्यस्त राख्न खेलमैदान, खेल सामग्री उपलब्ध गराउनुपर्यो, विद्यालयमा पनि अतिरिक्त क्रियाकलाप हुनुपर्यो। स्थानीय सरकारले बालबालिकालाई प्राथमिकता दिएर बजेट ल्याउनुपर्यो।’
बालिका इशा साउँदले विद्यालयको १०० मिटर वरपर सुर्तीजन्य पदार्थ बेचबिखन गर्न नपाइने व्यवस्था भए पनि यहाँका विद्यालयका प्रवेशमार्ग नजिकै सुर्तीजन्य पदार्थको बिक्री वितरण हुने गरेको बताइन्। उनले भनिन्, ‘विद्यार्थीहरू विद्यालय चलिरहेकै समयमा बाहिर पसलमा गएर सुर्तीजन्य पदार्थ, लागुऔषध खाएर कक्षामा आउँछन्, कक्षामै सुत्छन्। अनि हामीलाई कक्षामा सुरक्षा महसुस हुन्छ त? हामी कुलतमा फसेका साथीहरूसँग डराउँछौँ।’
टीकापुर–७ का बालक रवीन्द्रबहादुर घर्तीमगरले लागुऔषध र बालविवाह रोक्न हरेक समुदायमा रुपान्तरण कक्षा सञ्चालन गरिदिन माग गरे। उनले भने,
‘यहाँका अधिकांश बालबालिकाका अभिभावक रोजगारीका लागि भारतमा छन्, कतिपयका अभिभावक नै छैनन्। आफैँ घरव्यवहार चलाउने बालबालिकाको निगरानी कसैले गरेको छैन। उमेर नपुग्दै विवाह गरेर भारत जाने पनि धेरै छन्। बालविवाह रोक्ने योजना बनाइदिनुस्।’
बालिका अङ्किता टमट्टाले विद्यालयमा बालबालिका बिरामी भएमा आराम कक्ष तथा उपचारको सुविधा नभएको गुनासो गरिन्। उनले भनिन्, ‘साथीहरू बिरामी भएमा अर्को साथीले स्याहार्नुपर्छ, उसलाई अटोमा राखेर घर पुर्याउने कार्य पनि हामी आफैँ गर्छौं। यसो गर्दा हाम्रो पढाइ छुट्छ। समस्यामा रहेका विद्यार्थीका लागि छुट्टै शिक्षक आवश्यक देखिन्छ।’
बालिका अर्पणा चौधरीले बालविवाहले समाजमा नकारात्मक असर पारिरहेकाले नीतिगत र व्यवहारिक रूपमा बालविवाह रोक्न सघाउने कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। बालक अरुण टमट्टाले लागुऔषध र बालविवाहका कारण विद्यालय छोड्ने दर बढेकाले यसमा ध्यान दिन सरोकार भएका निकायलाई अनुरोध गरे।
उनले भने, ‘कक्षा ८ सम्म यहाँहरूले निःशुल्क शिक्षा दिनुभएको छ, कक्षा १० सम्म निःशुल्क बनाइदिनुस्। विपन्न बालबालिका गलत बाटोमा लाग्ने जोखिम बढी छ। उनीहरूलाई सघाउने शैक्षिक कार्यक्रम ल्याउन अनुरोध छ।’
बालबालिकाले स्थानीय पालिकाले उनीहरूलाई सिर्जनात्मक कार्यमा लगाउनुपर्ने, बिदाको दिन बालबालिका र अभिभावकका लागि व्यवहारिक शिक्षा दिनुपर्ने माग पनि गरे।
वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा बाल कल्याण सङ्घ टीकापुरको आयोजनामा सञ्चालित बाल समृद्धिका लागि हालेमालो तथा एकीकृत विकास कार्यक्रममार्फत बाल समृद्धिका क्षेत्रमा काम भइरहेको छ।
बाल कल्याण सङ्घका कार्यक्रम संयोजक राधिका गिरीले कैलालीका पाँच पालिकामा बालबालिकाको शिक्षामा पहुँच वृद्धि, जोखिममा रहेका बालबालिकाको सुरक्षा तथा संरक्षणका क्षेत्रमा काम भइरहेको बताइन्। उनले भनिन्, ‘बाल सहभागिता बढाउने, बालविवाह रोकथाम, बालश्रम, हिंसा तथा दुव्र्यवहारविरुद्ध सचेत बनाउने काम गरिरहेका छौँ। बालमैत्री वातावरण निर्माणका लागि स्थानीय पालिकाले लगानी बढाउनुपर्छ। हामी पनि सहकार्य गर्न तयार छौँ।’
वल्ड भिजनका जिल्ला संयोजक मङ्गल शाहले कैलाली र कञ्चनपुरमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनका लागि सहयोग गरिरहेको बताउँदै बालमैत्री र पोषणमैत्री पालिका बनाउन प्राथमिकता दिन सुझाव दिए।
धनसिंहपुर स्वास्थ्यचौकीका इञ्चार्ज यमबहादुर शाहले किशोरकिशोरीमा मानसिक समस्या बढ्दै गएकाले महिनामा एक दिन हरेक विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा दिने गरिएको बताए। उनले भने, ‘यसलाई निरन्तर गर्नुपर्छ। किशोरावस्थामा देखिने मानसिक समस्याप्रति अभिभावक, विद्यालय र सरकार सबै गम्भीर बन्नुपर्छ। विद्यालयमा पानी, सरसफाइ मात्र होइन, विद्यालय नर्स भएमा यी समस्या समाधान हुन्छन्।’
टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भोलिको सुन्दर समाजका लागि बालबालिकामाथि लगानी बढाउनुपर्ने भन्दै यसतर्फ वडा कार्यालय तथा स्थानीय जनप्रतिनिधि सचेत रहेको बताए। उनले भने,
‘बालबालिका व्यस्त राख्न हरेक वर्ष वडास्तरमा वडा कप प्रतियोगिता गरिरहेका छौँ। सबै विद्यालयका खेलमैदान सुधारलाई प्राथमिकता दिएका छौँ। खेलकुदमा युवा व्यस्त राख्ने प्रयास गरेका छौँ। बालविवाह न्यूनीकरणका लागि पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ।’
कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेका बेला बालबालिकासँगको छलफल महत्वपूर्ण रहेको बताए। उनले भने, ‘यहाँहरूले माग गरेका विषय बजेटमा समेट्ने प्रयास गर्नेछौँ। बालबालिका असल भएमात्र देश राम्रो हुने भएकाले बालबालिकाको शिक्षा र स्वास्थ्य हाम्रो प्राथमिकतामा छ।’
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)