मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्लभ कृष्णसार 'धेरै' भए, शुक्लाफाँटामा व्यवस्थापन चुनौतीपूर्ण बन्दै

corporatenepal.com · Fri Jun 19 04:59:01 GMT 2026

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ । संरक्षण कार्यक्रम सुरु भएको करिब डेढ दशकपछि कृष्णसारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ्दो सङ्ख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको हो । निकुञ्जको पछिल्लो तथ्याङ्कअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी १०२, अर्धवयस्क पोथी २६ र लिङ्ग पहिचान हुन बाँकी ८४ पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्णसारको सङ्ख्या निरन्तर बढिरहेको छ ।

“अहिले मुख्य चुनौती व्यवस्थापनको हो”, सूचना अधिकारी वाग्लेले भन्नुभयो, “एउटै क्षेत्रमा धेरै सङ्ख्या हुँदा रोगको जोखिम बढ्ने भएकाले प्राकृतिक बासस्थानमा खुला रूपमा छाड्ने वा अन्य उपयुक्त क्षेत्रमा स्थानान्तरण गर्ने विकल्पबारे विभागले अध्ययन गरिरहेको छ ।” वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार शुक्लाफाँटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट भाले-पोथीको सन्तुलित अनुपात मिलाएर चितवनमा कृष्णसार पुनःस्थापना गर्ने तयारी भइरहेको छ । “वंशानुगत (जेनेटिक) विविधता कायम राख्न पनि यो आवश्यक छ”, वाग्लेले भने, “ब्रिडिङ व्यवस्थापन योजनाअनुसार एउटै घेराभित्र मात्र राखिरहनुभन्दा विभिन्न क्षेत्रमा फैलाएर संरक्षण गर्नु दीर्घकालीन रूपमा प्रभावकारी हुन्छ, नयाँपुस्तामा सुधार हुन्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)