दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
shilapatra.com · Fri Jun 19 05:12:00 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दादुरा देखिएका नौ जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ सञ्चालन गरिरहेको हो ।
जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ सञ्चालन गरिरहेको उनले बताए । उक्त अभियान यही हप्तासम्म सञ्चालन हुनेछ ।
त्यस्तै सर्लाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकिएको छ भने अछाम र दैलेखमा दुई जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्नु नपरेको खोप शाखा प्रमुख डा गौतमले बताए ।
दादुराको उच्च जोखिम रहेका छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकामा खोप अभियान सञ्चालन गरिएको शाखा प्रमुख डा गौतमले बताए ।
बागलुङ छ महिनादेखि २० वर्षसम्म उमेर समूह र जाजरकोटमा छ महिनादेखि २४ वर्षसम्म उमेर समूहलाई खोप दिइएको उनले जानकारी दिए । यी दुई जिल्लामा १५ वर्षभन्दा माथिकामा पनि दादुरा देखिएकाले २४ वर्ष उमेर समूहलाई खोप दिइएको उनले बताए ।
'दादुरा अत्यन्तै संक्रामक रोग हो । एक जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण सार्न सक्दछ । त्यसैले संक्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बालबालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास भइरहेको छ', खोप शाखा प्रमुख डा गौतमले भने ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३
१०:५७
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)