नेपालमा 5G तत्काल नआउने:पहिले 4G सुधार, फोरजी बलियो बनाएपछि मात्रै 5G ल्याइने
barnanmedia.com · Fri Jun 19 05:12:57 GMT 2026

सरकारले देशभर फाइभजी सेवा विस्तारअघि हाल सञ्चालनमा रहेको फोरजी सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने रणनीति अघि सारेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै फोरजी सुदृढीकरणपछि क्रमिक रूपमा फाइभजी कार्यान्वयन गरिने बताएका छन्।
मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवा, मिडिया नीति तथा सञ्चार क्षेत्र सुधारका लागि आवश्यक अध्ययन र नीतिगत तयारी भइरहेको जानकारी दिए। छोटो समयमै सबै क्षेत्रलाई व्यवस्थित गर्न चुनौतीपूर्ण भए पनि सरकारले प्राथमिकताका आधारमा सुधारका काम अघि बढाइरहेको उनको भनाइ थियो।
उनले तत्काल फोरजी सेवा विस्थापित गरेर फाइभजीमा जाने अवस्था नरहेको स्पष्ट पारे। “अहिले हाम्रो ध्यान फोरजी सेवाको गुणस्तर सुधार र पहुँच विस्तारमा केन्द्रित छ। त्यसपछि मात्रै फाइभजी विस्तारको चरणमा प्रवेश हुनेछ,” उनले भने। फाइभजी सेवा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै आवश्यक फ्रिक्वेन्सी निर्धारण तथा वितरणको तयारीसमेत भइरहेको जानकारी दिए।
दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउन तेस्रो मोबाइल सेवा प्रदायक आवश्यक छ वा छैन भन्ने विषयमा पनि सरकारले अध्ययन गरिरहेको मन्त्री तिमिल्सिनाले बताए। हाल नेपालमा दुई कम्पनीले मोबाइल सेवा प्रदान गरिरहेका बेला थप अपरेटरको सम्भावना र आवश्यकता मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
सरकारले नेपाल टेलिकमलाई थप सुदृढ बनाउने, दूरसञ्चार पूर्वाधारलाई जनहितमा उपयोग गर्ने तथा समग्र प्रणालीलाई मजबुत बनाउने नीति लिएको पनि उनले बताए। यसका लागि मन्त्रालय, नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच नियमित समन्वय र छलफल भइरहेको उनको भनाइ छ।
दूरसञ्चार क्षेत्रमा देखिएका समस्या समाधानका लागि कानुनी व्यवस्था कार्यान्वयन गर्दै सुधार प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले विशेषगरी नेपाल टेलिकमको बिलिङ प्रणाली तथा सेवा व्यवस्थापनका विषयमा सरकार गम्भीर रहेको बताए। पारदर्शिता र विधिसम्मत प्रक्रियामार्फत समाधान खोजिने उनले स्पष्ट पारे।
डिजिटल पूर्वाधार विकासलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको छ। मन्त्री तिमिल्सिनाका अनुसार नेपाललाई क्षेत्रीय डेटा सेन्टर हबका रूपमा विकास गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको छ। बहुराष्ट्रिय कम्पनीहरूको चासो, डिजिटल पूर्वाधारको सम्भाव्यता र विदेशी लगानी आकर्षित गर्ने अवसरहरूको समेत मूल्याङ्कन भइरहेको उनले बताए।
पत्रकारिताको भूमिकाबारे बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले लोकतन्त्र सुदृढ बनाउन स्वतन्त्र, जिम्मेवार र व्यावसायिक पत्रकारिता अपरिहार्य रहेको धारणा व्यक्त गरे। सञ्चारमाध्यमको दिगोपन, विज्ञापन वितरण प्रणाली र पत्रकारहरूको हितसम्बन्धी विषयमा पनि सरकारले नीतिगत सुधारको तयारी गरिरहेको उनले जानकारी दिए।
सरकारले दूरसञ्चार, डिजिटल पूर्वाधार र सञ्चार क्षेत्रलाई आधुनिक तथा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइरहेको जनाएको छ। आगामी दिनमा फोरजी सेवा थप प्रभावकारी बनाउने र त्यसको आधारमा फाइभजी विस्तार गर्ने सरकारको रणनीति दूरसञ्चार क्षेत्रको प्रमुख प्राथमिकताका रूपमा देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)