मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बगेको घरको माटो परीक्षण

gorkhapatraonline.com · Fri Sep 11 04:36:59 GMT 2026

गोरखा नगरपालिका–९, लक्ष्मी बजारमा गत साउन १८ गते बगेको घरको कारण पत्ता लगाउन विज्ञ टोलीले स्थलगत अध्ययनसँगै माटो परीक्षण थालेको छ । चारतले पक्की घर नै जमिनसहित बगेपछि घटनाको वास्तविक कारण पहिचान गर्न विज्ञ टोली परिचालन गरिएको हो ।

लक्ष्मी बजारको दिवामार्गस्थित मानसिं गुरुङको घर बगेपछि त्यस क्षेत्रमा जमिनको अवस्था र वरपरका संरचनामा परेको प्रभावबारे अध्ययन गर्न इन्जिनियरिङ क्षेत्रका विज्ञ गोरखा आइपुगेको वडाध्यक्ष कुलबहादुर कुँवरले बताउनुभयो । गत शनिबारदेखि बुधबारसम्म बसेर टोलीले घटनास्थलको विस्तृत निरीक्षण गरी परीक्षणका लागि माटोको नमुना सङ्कलन गरेर लगेको छ । इन्जिनियर एसोसिएसनका प्रमुख भैरव धितालले भन्नुभयो, “घर बगाएको ठाउँको माटो लिएर गएका छौँ । माटोको भार क्षमता कति रहेछ भन्ने परीक्षण गर्छौं । रिपोर्ट अबको एक साताभित्र आउँछ । त्यसपछि घटनाको कारण पत्ता लाग्ने छ ।” टोलीले घर बगेको स्थान मात्रै नभई त्यसबाट आसपासका घर तथा संरचनामा परेको असरको समेत मूल्याङ्कन गरेको छ । जमिनको प्रकृति, माटोको अवस्था र संरचनागत पक्षलाई आधार बनाएर अध्ययन भइरहेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)