कक्षा १२ को नतिजा सार्वजनिक : ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४० जनामाथि कारबाही
ajakoartha.com · Fri Jun 19 05:27:00 GMT 2026

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नियमित र आंशिकतर्फ गरी समग्रमा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
यस वर्षको परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी सहभागी भएका थिए।
सार्वजनिक नतिजाअनुसार नियमिततर्फ २ लाख ३१ हजार ७७० जना (६९.७५ प्रतिशत) र आंशिकतर्फ ३६ हजार ४२० जना (४२.३८ प्रतिशत) गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।
नतिजासँगै बोर्डले परीक्षामा अनियमितता तथा अमर्यादित गतिविधिमा संलग्न परीक्षार्थीमाथि कारबाही गरेको जनाएको छ। बोर्डका अनुसार ४० जना परीक्षार्थी कारबाहीमा परेका छन्।
कारबाहीमा परेकामध्ये ३८ जनाको चालु शैक्षिक सत्रका सबै विषयको परीक्षा रद्द गरिएको छ। बाँकी २ जनाको भने यस वर्षको परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको बोर्डले जनाएको छ।
बोर्डले नतिजा अनलाइन, एसएमएस तथा आईभीआर सेवामार्फत हेर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
राष्ट्रिय परीक्षा बोर्ड