इरान वार्ताका लागि स्विट्जरल्यान्ड नजाने भए अमेरिकी उपराष्ट्रपति भान्स
ratopati.com · Fri Jun 19 05:40:34 GMT 2026

वासिङ्टन डीसी । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सको इरानसँग हुने वार्ताका लागि स्विट्जरल्यान्ड जाने पूर्वनिर्धारित यात्रा स्थगित गरिएको छ ।
ह्वाइट हाउसका एक प्रवक्ताले वार्ताको अर्काे चरणसँग सम्बन्धित प्राविधिक तथा व्यवस्थापकीय तयारी अझै टुंगो नलागेकाले भान्स आज राति प्रस्थान नगर्ने जानकारी दिएका छन् ।
‘उपराष्ट्रपतिले पत्रकार सम्मेलनमा भनेझैँ आगामी प्राविधिक वार्ताको योजना अझै अन्तिम रूप पाइसकेको छैन । अमेरिकी प्रतिनिधिमण्डल पहिलो उपलब्ध अवसरमै प्रस्थान गर्न तयार छ । तर यस्ता वार्ताका व्यवस्थापकीय पक्ष कहिल्यै सरल वा पूर्वानुमानयोग्य हुँदैनन्,’ प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा हालका लागि भान्सको यात्रा रद्द गरिएको उल्लेख गर्दै वार्ताको अर्को चरणबारे ठोस निर्णय भएपछि जानकारी गराइने जनाइएको छ । साथै सकेसम्म चाँडो प्राविधिक वार्ता सुरु हुने अपेक्षा गरिएको पनि बताइएको छ ।
यसअघि बिहीबार उपराष्ट्रपति भान्सले आफू स्विट्जरल्यान्ड जाने योजनामा रहेको बताएका थिए, तर यात्राको समय भने निश्चित नभएको स्वीकार गरेका थिए । इरानसँग हुने सम्झौतालाई अन्तिम रूप दिन आवश्यक प्राविधिक वार्ता यसै सप्ताहन्तदेखि सुरु हुने अपेक्षा गरिएको र आफू अमेरिकी वार्ता टोलीको नेतृत्व गर्ने योजनामा रहेको उनले बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)